७१ मध्ये कति जना जैनजी शहीदको जिम्मा लिन्छन् टंक दाहालले ?

जेन–जी आन्दोलनको पहिलो दिन ८ सेप्टेम्बरमा संसद भवन अगाडि राज्य पक्षको गोली प्रहारमा कम्तीमा १९ जना युवाको ज्यान गएको थियो। त्यसै दिन बेलुकी सामाजिक सञ्जालमा अर्को सनसनीपूर्ण दाबी फैलियो, जसले आन्दोलनलाई अझै उत्तेजित बनायो।
अमेरिकामा बस्दै आएका युट्युबर टंक दाहालले राति ८:४७ बजे ‘एक्स’ मा पोस्ट गर्दै संसद भवनभित्र ३२ जना बच्चा नियन्त्रणमा राखिएको दाबी गरे। उनले लेखे—
“संसद भवन भित्र ३२ जना जति बच्चाहरु लाई नियन्त्रण गरेर राखिएको छ भन्ने सुन्नमा आयो । तिनको स्थिति पत्ता लगाएर तिनको सुरक्षाको व्यवस्था गरिदिनु हुन अनुरोध छ । ती बच्चा गायब नहुन भन्ने कामना ।” पोस्टमा प्रयोग गरिएको ‘गायब’ शब्द र शैली त्यसयता व्यापक विवादमा रह्यो।
चार मिनेटपछि दाहालले सोही पोस्ट फेसबुकमा पनि राखे। यसपटक उनले अन्त्यमा “श्रोत : त्यही भित्रका प्रत्यक्षदर्शी” थपे। सुरुमा एक्समा भने स्रोत उल्लेख थिएन। तर फेसबुक पोस्ट गरेको एक मिनेटमै (८:५२ बजे) उनले एक्समा पनि त्यही वाक्य थपे।
तर दाहालले कसले नियन्त्रणमा राख्यो, कहिले नियन्त्रणमा लियो भन्ने कुनै विवरण दिएनन्। त्यसैले धेरै प्रयोगकर्ताले ‘भ्रम नफैलाउनू’ भन्दै आपत्ति जनाए। विशेष गरी ‘गायब’ शब्दलाई लिएर तीव्र आलोचना भयो।
एक प्रयोगकर्ताले रिप्लाई गर्दै लेखे, “कसले गायब गर्छ हो हजुर ?”
त्यस्तै अर्का प्रयोगकर्ता सन्तोषले १० सेप्टेम्बरमा रिपोस्ट गर्दै भने, “ओई मु राख्या रैछन् त ? यस्तै भ्रमको खेती गरेर मान्छे उचालिस् हैन ?”

धेरैले टंकको रिप्लाइमा भ्रमछरेर डलर कमाउने खेती गरेको आरोप लगाएका छन् । अर्जुल आचार्यले भ्रमछरेर कमाएको डलरले अन्तमा खुसि र शान्ति नमिल्ने भनेर रिप्लाई गरेका छन् ।

हाल नेपालमा आन्दोलन सकिएर अन्तरिम सरकार बनेको छ। तर टंक दाहालले भने अझैसम्म आफ्नो प्रष्टिकरण दिएका छैनन्। बरु उनले आफ्नो एक्स (पूर्व ट्विटर) को कभर फोटोमा “No Bakwas, Only True” भन्ने स्लोगन राखेका छन् । तर उनको नाराभन्दा विपरीत, दाहालको गतिविधि र शैली पहिले देखि नै विवादास्पद रहँदै आएको छ ।
उनलाई कतिपयले युवालाई “स्वार्थका लागि ब्रेनवाश गर्ने” आरोप लगाउँदै आएका छन् । विदेशमा बसेर सामाजिक सञ्जालमार्फत आधारहीन दाबी गर्ने दाहाल एक्ला मात्र होइनन्, तर उनी पछिल्लो समय सबैभन्दा चर्चित पात्र बनेका छन् ।
टंकलगायतको बहकाउमा परेका केही नवयुवाहरू आक्रोशित भएर आन्दोलनमा होमिए र ज्यान गुमाउन पुगेको पनि टिप्पणी हुँदै आएको छ । फेक समाचार र हल्ला फैलाएको आरोपमा दाहालविरुद्ध अमेरिकामै कानुनी कारबाही गर्नुपर्ने मागसमेत उठ्न थालेको छ। कतिपयले नेपालस्थित अमेरिकी दूतावासमार्फत दाहालविरुद्ध मुद्दा दायर गर्ने तयारी गरिरहेको बताइएको छ।
नेपालमा दशक लामो सशस्त्र द्वन्द्वमा करिब १३ हजारले राज्यपक्षबाट र करिब ५ हजारले माओवादी तर्फबाट ज्यान गुमाएका थिए। केही समयअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममा ५ हजारको जिम्मा आफूले लिने तर बाँकीको जिम्मा कसले लिने भन्ने प्रश्न उठाएपछि उनीविरुद्ध समेत मुद्दा परेको थियो।
त्यसैले प्रश्न उब्जिएको छ, जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ७१ जनामध्ये कति जनाको जिम्मा टंक दाहालजस्ता व्यक्तिहरू लिन्छन् ?
तपाईको प्रतिक्रिया दिनुहोस