गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्न भड्काउने अनिल ज्ञवाली जापान फरार

जेन–जी आन्दोलनको क्रममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्दोलनकारीको एउटा समूह घुसेर तोडफोड र आगजनी गरेको थियो । यद्यपि विमानस्थलमा ठूलो क्षति भएको छैन, तर पार्किङमा राखिएका ६ वटा सवारीसाधन जलेका छन्।
भैरहवा विमानस्थलमा आक्रमण गर्न लगाउन दुई व्यक्तिले फेसबुकमा फैलाएको भ्रामक सूचनाले प्रमुख भूमिका खेलेको देखिन्छ। भैरहवामा लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका संजय बजिमय र रुपन्देही घर भई हाल जापान बस्दै आएका अनिल ज्ञवालीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल हुँदै विदेश भाग्न लागेको भ्रामक दाबी गरेका थिए।


उनीहरूको पोस्ट सार्वजनिक भएपछि भीड विमानस्थलमा प्रवेश गरी आगजनीमा उत्रिएको देखिन्छ । संजय बजिमय स्वयं पनि त्यही भिडमा पुगेका थिए। भिडियोहरूमा उनलाई भीडलाई उत्तेजित गराइरहेको देखिन्छ। केही समयपछि उनी आफ्नै फेसबुक पोस्ट मेटाएका थिए।
भैरहवामा शान्ति सद्भाव र्यालीमा समेत सहभागी बनेका बजिमयलाई स्थानीयले आलोचना गरेका छन्। विगतमा उनले विमानस्थल सञ्चालन नभए आमरण अनशन बस्ने चेतावनी दिने र मन्त्री–सचिवलाई धम्काउने गतिविधि गरेका थिए।
अर्का व्यक्तित्व अनिल ज्ञवालीले समेत फेसबुकमार्फत् आन्दोलनकारीलाई विमानस्थल जान आह्वान गरेका थिए। रुपन्देहीकै भए पनि हाल जापानमा बस्दै आएका उनी दशैं मनाउन नेपाल आएका बेला यस्तो अफवाह फैलाएको प्रहरीले जनाएको छ। प्रहरीको खोजीपछि उनले स्टाटस मेटेर पुनः जापान फर्किएको बुझिएको छ । उनी रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग, जापान च्युबु शाखाका कोषाध्यक्षसमेत रहेका छन् । ज्ञवलीको स्टाटस कलाकार वर्षा राउतले समेत शेयर गरेर हिंसालाई प्रोत्साहन गरेको देखिन्छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार तोडफोड र आगजनीमा संलग्न केहीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । सामाजिक सञ्जालमार्फत् उत्तेजक अभिव्यक्ति दिने अनिल ज्ञवालीको पनि खोजी भइरहेको उनले बताए ।
चौतर्फी आलोचना पछि संजय बजिमयले भने आफू आगजनी वा तोडफोडमा संलग्न नभएको दाबी गरेका छन्। “मलाई प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायलाई सावधानी अपनाउन भनेको मात्र हुँ,” उनले भने।
विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार, जलेका सवारीसाधनमा अध्यागमन विभागका दुई गाडी, नेपाल वायुसेवा निगमका दुई गाडी, एउटा सरकारी गाडी र दुई मोटरसाइकल छन्। सुरक्षा पोष्टमा सामान्य क्षति पुगेको छ भने ब्यारिकेड तोडिएको उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस