Techie IT
२०८२ असोज २८, मंगलबार

देशभर जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ


देशका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट नगद र तासका बुकसमेत बरामद गरेको छ।

भक्तपुर नगरपालिका–२ दुधपाटीस्थित ४२ वर्षीय अनिल कोजुले सञ्चालन गरेको दरबार स्केट हाउसमा जुवातास खेलिरहेको अवस्थामा अनिलसहित ९ जनालाई प्रहरीले गए राति पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूबाट नगद ४७ हजार ६ सय ७५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ।

त्यसैगरी, ललितपुरको गोदावरी नगरपालिका–२ पात्लेछापस्थित ३६ वर्षीय रोशन तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा रोशनसहित ६ जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो। प्रहरी प्रभाग बाडेगाउँको टोलीले उनीहरूबाट नगद ३२ हजार ९ सय ६० रुपैयाँ र १ बुक तास बरामद गरेको छ।

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित ५५ वर्षीय सशिधर जैसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सशिधरसहित ३ जनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूबाट नगद ७१ हजार ७ सय ६० रुपैयाँ र १० बुक तास बरामद गरेको जनाएको छ।

उता बाँकेको खजुरा गाउँपालिका–४ डि गाउँस्थित टहरोमा जुवातास खेलिरहेका बेला जानकी गाउँपालिका–५ का ४० वर्षीय कृष्ण चौधरीसहित ५ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको टोलीले उनीहरूबाट नगद ४७ हजार ३० रुपैयाँ र १ बुक तास बरामद गरेको छ।

प्रहरीका अनुसार सबै घटनाबारे थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट