Techie IT
२०८२ कार्तिक २, आइतबार

जेनजी आन्दोलनमा टीओबी लेखिएको ज्याकेट लगाएर अराजकता मच्चाउने लामाको नागरिकता नक्कली ठहर


‘मलाई मेरो देश फिर्ता दे’ भन्दै जेनजी आन्दोलनका क्रममा प्रदर्शन र तोडफोडमा संलग्न देखिएका तेन्जिङ दावा लामाको नागरिकता नक्कली ठहरिएको खुलासा भएको छ। उनी प्रदर्शनका क्रममा ‘टीओबी (Tibetan Original Blood)’ लेखिएको कालो ज्याकेट लगाएर देखिएका थिए।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ कार्यालयबाट शनिबार जन्मदर्ता गराई नागरिकताको सिफारिस गरिएको थियो। तर पछिल्लो अनुसन्धानपछि उक्त सिफारिस फर्जी भएको प्रतिवेदन प्रहरीले प्राप्त गरेको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले २०६३ साल चैत १० गतेको नक्कली जन्मदर्ताका आधारमा नागरिकताको सिफारिस जनाएको देखिएको छ। त्यही सिफारिस गरिएको ढड्डा भदौ २४ गते भएको आगलागीमा जलेको बताइए पनि, काठमाडौं महानगरपालिकाले उक्त सिफारिस आफूले नगरेको पुष्टि गर्दै पत्र जिल्ला प्रहरी परिसरलाई पठाएको बुझिएको छ। यसबाट तेन्जिङलाई नागरिकता दिलाउन प्रयोग गरिएको आधार नै गलत ठहरिएको स्पष्ट भएको छ।

प्रहरीले सोधपुछका क्रममा तेन्जिङले ‘आमाले कसरी सिफारिस बनाइदिनुभयो, आफूलाई थाहा छैन’ भन्ने बयान दिएका छन्।

स्रोतका अनुसार, उनले यही नागरिकताको आधारमा राष्ट्रिय परिचयपत्र र राहदानी पनि बनाइसकेका छन्। सोही राहदानी प्रयोग गरी उनी अष्ट्रेलिया जाने तयारीमा थिए।

प्रहरीले भने, ‘तेन्जिङ दावा लामाको जन्मदर्ता र नागरिकता दुवै शंकास्पद देखिएका छन्। त्यसैले थप अनुसन्धान अघि बढाइएको छ।’

काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाका अनुसार, तेन्जिङले देखाएको जन्मदर्ता र नागरिकताको विवरण महानगरको ढड्डामा फेला नपरेको हो । ‘हामीले ढड्डामा केही भेटेनौं। सोही अनुसारको प्रतिवेदन तयार पारेर भोलि जिल्ला प्रहरी परिसरमा पठाउने तयारीमा छौं,’ वडाध्यक्ष लामाले भने।

तेन्जिङले दिएको विवरणअनुसार, उनको जन्मदर्ता २०६३ साल चैत १० गतेको र नागरिकता २०७९ साल असारमा जारी भएको देखिन्छ। तर यी दुवै अभिलेख सरकारी फाइलमा नभेटिएको हो।

प्रहरीका अनुसार, २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा टीओबी लेखिएको ज्याकेट लगाएर पेस्तोल जस्तो वस्तु बोकेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी प्रहरीको निगरानीमा आएका थिए। अनुसन्धान अघि बढेपछि तेन्जिङ आफैं प्रहरीमा पुगेका थिए।

प्रहरीले बरामद गरेको वस्तु नक्कली पेस्तोल भएको पुष्टि गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार, भिडियो करिब एक वर्ष पुरानो रहेको देखिन्छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहार तथा डर–त्रास सिर्जना आरोपमा अनुसन्धानका लागि सुरुवाती रूपमा ६ दिनको म्याद दिएको थियो। त्यसपछिका चरणमा सो म्याद थप गरी अनुसन्धान जारी राखिएको छ।

तेन्जिङले प्रहरीसमक्ष ‘सबैले मलाई तिब्बती तिब्बती भनेर जिस्क्याएपछि आफू नेपाली हो भनेर देखाउन टिकटक भिडियो बनाएको र त्यो आफ्ना लागि आत्मघाती कदम बनेको’ दुःखेसो पोखेका छन्।

यस घटनाले नेपालभित्र घुस र अवैध माध्यम प्रयोग गरी नागरिकता लिने, छिमेकीविरोधी गतिविधि सञ्चालन गर्ने र त्यही आधारमा विदेशी सम्पर्क बढाउने गतिविधि अझै जोखिमपूर्ण रूपमा चलिरहेको संकेत दिएको छ। त्यसैले यस्ता घटनामा संलग्न व्यक्ति र सहयोगी कर्मचारी दुवैलाई कठोर कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज उठ्न थालेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट