शाक्यको घरमा डाँका चोरी गर्ने भारतीय नागरिक कारागार चलान

जेनजी आन्दोलनको क्रममा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा डाँका चोरी गरेको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक कारागार चलान भएका छन्।
ललितपुर महानगरपालिका–११ ढटल मार्गस्थित शाक्यको घरमा चोरी गरेको आरोपमा पक्राउ परेका भारतको बेतिया जिल्ला घर भएका १८ वर्षीय सरोज आलमलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।
उनीसँगै पक्राउ परेका अन्य तीन जनालाई भने धरौटीमा रिहा गरिएको छ।
शाक्यकै घरमा चोरीको आरोपमा काभ्रेको रोशी गाउँपालिका–१ खहरेका २५ वर्षीय फुर्साङ लामा, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का २२ वर्षीय सहजाद मिया मंसुरी र रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का २८ वर्षीय मनिष सुनार पक्राउ परेका थिए।
अदालतले लामालाई ६० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ भने बाँकी दुई जनालाई जनही ३०/३० हजार धरौटीमा छोडिएको छ। उनीहरूले धरौटी बुझाएर रिहा भएका छन्।
शाक्यको घरको ग्राउन्ड फ्लोरमा सञ्चालनमा रहेको ‘रेष्टलस’ नामक एनजीओबाट केही अमेरिकी डलर, हितेन्द्रदेवले प्राप्त गरेका दीर्घ सेवा पदक र अवकाश पदक, उनका पिता शुभराज्य रोहण पदक, मोबाइल फोन, सुनचाँदीका सिक्का, गहना तथा अन्य विभिन्न सामान गरी करिब १६ लाख रुपैयाँ बराबरको सम्पत्ति चोरी तथा नष्ट भएको जनाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस