Techie IT
२०८३ असार २८, आइतबार

क्यान महानिर्देशकमाथि आक्रमण प्रयासमा संलग्न तीन जना पक्राउ


नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीमाथि आक्रमणको प्रयास गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरको सातदोबाटोबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा अन्दाजी ३२ वर्षीय हेम तामाङ, श्रीजन अधिकारी र ३८ वर्षीय कोकिलबहादुर शाही रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले सोमबार साँझ साढे ५ बजेतिर ललितपुरस्थित एन्फा कम्लेक्सको गेट अगाडि प्रदीप अधिकारी सवार गाडी रोकेर हातपातको प्रयास गरेका थिए।

प्रहरी स्रोतका अनुसार उनीहरूले अधिकारीको गाडी अगाडि स्कुटर रोकेका थिए। हल्ला मच्चिएपछि श्रीजन अधिकारी स्कुटर त्यहीँ छाडेर भागेका थिए।
“स्कुटर त्यहीँ छाडेर भागेपछि सिसिटिभी फुटेज र सोही स्कुटरको आधारमा खोजी गरेर उनीहरूलाई पक्राउ गरिएको हो,” प्रहरी स्रोतले भन्यो।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाले प्रदीप अधिकारीमाथि होइन, उनीजस्तै देखिने अर्का व्यक्तिमाथि आक्रमण गर्न खोजेको बताएका छन्।
“उनीहरूले अनुहार मिलेकाले झुक्किएर यस्तो भएको बताएका छन्,” स्रोतले भन्यो, “तर प्रारम्भिक रूपमा बुझिँदैछ कि उनीहरूलाई कसैले काम लगाएको जस्तो देखिन्छ।”

प्रहरीले हाल उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरुले आफूहरू तीन जनामात्र संलग्न भएको दाबी गरे पनि सिसिटिभी फुटेजमा अन्य व्यक्ति पनि देखिएकाले प्रहरीले थप खोजी गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट