सुर्खेतमा काकाले गरे भतिजको हत्या
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, गुटुका २१ वर्षीय भुवन धमलाको हत्या आरोपमा उनका काका २० वर्षीय हेमन्त धमला (हिरा) पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बाबियाचौर र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार हेमन्तलाई पक्राउ गरेको हो। दुवै जना ३ कात्तिक राति चौकुने–१०, घाटगाउँमा लाग्ने भुवा जात्रा हेर्न सँगै गएका थिए। तिहार आसपासमा लाग्ने यो जात्रा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ। तर भुवन ४ कात्तिक बेलुकासम्म घर नफर्केपछि परिवारजनले उनको खोजी थालेका थिए।
तीन दिनको खोजीपछि ७ कात्तिक दिउँसो चौकुने–१० को ताताथाई भन्ने स्थानमा भुवनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढ्थापाले जानकारी दिएका छन् । उनका अनुसार शवमा शरीरका विभिन्न भागमा गम्भीर चोटपटक भेटिएको र घटनास्थलको अध्ययनपछि हत्या भएको ठहर गरिएको थियो।
प्रहरी अनुसन्धानका क्रममा भुवनका काका हेमन्तले नै हत्या गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। हेमन्तको ज्याकेटमा रगतको दाग भेटिएपछि प्रहरीको शंका उनीमाथि केन्द्रित भएको थियो।
डीएसपी बुढ्थापाका अनुसार, जात्राको राति दुुवैजनाले मदिरा सेवन गरेका थिए र मोबाइल तथा पैसाका विषयमा सामान्य विवाद भएपछि उनीहरूबीच हातपात भएको थियो। सोही क्रममा राति करिब १२ बजेतिर हेमन्तले भुवनलाई निर्घात कुटपिट गर्दा घटनास्थलमै उनको ज्यान गएको प्रहरीको निष्कर्ष छ।
मृतकका आफन्तले हेमन्तकै नाममा किटानी जाहेरी दिएका छन्। प्रहरीले उनलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी बुधबार म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस