सुप्रिम सहकारी ठगी मुद्दा: लामिछाने–जोशीको सुनुवाइ उच्च अदालत बुटवल हुँदै
बुटवलको सुप्रिम सहकारी संस्थाबाट रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज तुलसीपुर उच्च अदालत बुटवल इजलासमा हुँदैछ।
उच्च अदालत बुटवलका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा ४ नम्बरमा सुनुवाइ हुने जानकारी अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले दिएका छन्।
यसअघि लामिछानेको मुद्दामा न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छविलाल जोशीको मुद्दासमेत लामिछानेको मुद्दासँगै सुनिने आदेश गरेको थियो।
लामिछानेले आफ्नो भागको बिगो रकम अदालतमा बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न अनुमति मागेका थिए। उच्च अदालतले रविसँगै छविलाल जोशीको फाइल पनि पेश गर्न आदेश दिएको थियो। यसअघि लामिछानेको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन पेश गर्न पनि आदेश दिएको थियो।
जेन-जी आन्दोलनका क्रममा उच्च अदालत तुलसीपुर–बुटवल इजलासमा भएको आगजनी र तोडफोडमा पनि लामिछाने र जोशीको फाइल सुरक्षित रहेको थियो।
सुप्रिम सहकारी ठगी मुद्दामा लामिछाने र अन्य प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको थियो। लामिछानेले चार भागमध्ये आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका थिए। जोशीले पनि यस्तै रकमको जमानत पेश गरेका छन्।
हाल लामिछाने पुर्पक्षका लागि भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा सरुवा भइसकेका छन् भने जोशी भैरहवा कारागारमै छन्।
सरकारी वकिल र लामिछानेका वकिलबीच बहसपछि आजै आदेश आउन सक्ने सम्भावना रहेको अदालतले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस