Techie IT
२०८३ कार्तिक ३, सोमबार

जोशी युवा क्लबद्वारा भलिबल प्रतियोगिता सम्पन्न, रामसिंह मेमोरियल बन्यो च्याम्पियन


बझाङको दुर्गाथली गाउँपालिका–४, भण्डेलगाउँस्थित जोशी युवा क्लबको आयोजनामा सञ्चालित दोस्रो टोलस्तरीय पुरुष भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। असोज ३१ देखि कात्तिक २ गतेसम्म सञ्चालित उक्त प्रतियोगितामा कुल १६ टोलीको प्रतिस्पर्धात्मक सहभागिता रहेको थियो।

कडा प्रतिस्पर्धाका बिच रामसिंह मेमोरियल शिलाङीले प्रथम स्थान हासिल गर्दै उपाधि चुमेको छ। प्रतियोगितामा बुङ्गा टोली द्वितीय र आयोजक जोशी युवा क्लब तृतीय हुन सफल भएका छन्।

स्थानीय समाजसेवी तथा शिक्षक सत्यराज जोशीको प्रमुख आतिथ्य र लक्ष्मीराज जोशीको विशिष्ट आतिथ्यमा सम्पन्न समापन समारोहमा विजेता तथा उपविजेता टोलीहरूलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताको संयोजन रामकुमार जोशी, सहसंयोजन मकर जोशी, व्यवस्थापन हेमराज खैर तथा सञ्चालनमा नागेश जोशीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

कार्यक्रमवारे आफ्नो धारणा राख्दै युवा नेता चेतराज जोशीले खेलकुद केवल मनोरञ्जन मात्र नभई युवाहरूमा अनुशासन, भाइचारा, सहकार्य र नेतृत्व क्षमता विकास गर्ने बलियो आधार भएको बताएका थिए । स्थानीयस्तरमा खेलकुदलाई प्राथमिकता दिँदै प्रतिभावान् खेलाडीहरूलाई उचित अवसर र प्रोत्साहन प्रदान गर्न सके राष्ट्रियस्तरमा समेत गाउँको पहिचान स्थापित हुने विश्वास उनले व्यक्त गरेका छन् ।

त्यसैगरी, व्यवस्थापक नागेश जोशीले नयाँ पुस्ता (Gen Z) का युवाहरूलाई गाउँ-समाजका सकारात्मक गतिविधिमा सक्रिय गराउन देखाएको तत्परताको प्रशंसा गरिएको थियो।

स्थानीय युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न यस प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

प्रतियोगिता भव्य रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, अतिथि, व्यवस्थापक तथा स्थानीयवासीप्रति जोशी युवा क्लबले हार्दिक आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि यस्ता रचनात्मक तथा खेलकुद सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता क्लबले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट