दर्ज्यानी चिह्न लगाइसकेपछि भक्कानिय महानिरीक्षक कार्की
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की दर्ज्यानी चिह्न लगाएपछि सम्बोधनका क्रममा भावविह्वल भएका छन्। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न ग्रहण गरेपछि सम्बोधन सुरु गर्दा उनको स्वर अवरुद्ध भएको थियो।
‘म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका...’ भनिरहेका कार्की केही क्षणका लागि रोकिए। गला रुन्थ्यो, उनले अगाडि राखिएको टिस्यु पेपरले आँखा र नाक पुछे र फेरि सम्बोधन अगाडि बढाए।
सम्बोधनमा कार्कीले आफूले पाएको जिम्मेवारी पारदर्शिता, जवाफदेहिता र नागरिक सेवा भावका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनका अनुसार नेपाल प्रहरीलाई नागरिकमैत्री, इमानदार र व्यावसायिक संगठनका रूपमा अघि बढाउने लक्ष्य रहनेछ।
प्रहरी नियमावलीमा तोकिएको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरीको कमाण्ड कार्कीको मातहत आएको हो।
खापुङ अवकाशमा जानुअघि नै कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस