जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार दुई कैदीबन्दी पक्राउ
जेनजी आन्दोलनको अवसर पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका दुई कैदीबन्दी पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को टोलीले सोमबार धादिङकी ४४ वर्षीया गीता लामा र काठमाडौँका ३३ वर्षीय मंगल महर्जनलाई अलग–अलग स्थानबाट पक्राउ गरेको हो। लामा ‘जीउ मास्ने’ मुद्दामा र महर्जन ‘सुन भन्सार चोरी पैठारी’ मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
CIB का प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार लामालाई ललितपुर महानगरपालिका–३ धोबिघाटबाट र महर्जनलाई काठमाडौँ महानगरपालिका–१७ धोबिचौरबाट पक्राउ गरिएको हो।
लामा जगन्नाथदेवल महिला बन्दीगृहबाट फरार भएकी थिइन्। उनीलाई २२ वर्ष कैद सजाय तोकिएको थियो र २०७६ मंसिर १९ गते कारागार चलान गरिएको थियो।
त्यस्तै, महर्जनलाई एक वर्ष कैद सजाय र १ करोड ८ लाख ३९ हजार ७४७ रुपैयाँ ५० पैसा जरिवाना तोकिएको थियो। उनी गत चैतदेखि कैद भुक्तान गराइरहेका थिए।
दुवै फरार कैदीलाई पुनः कारागार कार्यालय जगन्नाथदेवलमा बुझाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस