Techie IT
२०८२ मंसिर २, मंगलबार

जेनजी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न पाँच जना पक्राउ


जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न सरकारी तथा निजी संरचनामा गरिएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाभरि भएका तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूमध्ये थप पाँच जनालाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–३ का २१ वर्षीय अजय तामाङ, खानीखोला गाउँपालिका–१ का २१ वर्षीय विशाल भोलन, बनेपा नगरपालिका–३ का २२ वर्षीय रवीन्द्र परियार, बनेपा—८ का १९ वर्षीय अभि सुधाकार तथा दोलखा जिरी नगरपालिका–१ का २७ वर्षीय भीम तामाङ रहेका छन्।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रविन विष्टका अनुसार, भोलनविरुद्ध २०८१ मा इलाका प्रहरी कार्यालय बनेपामा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको थियो भने सुधाकारविरुद्ध २०७९ मा सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो। पक्राउ परेकाहरूको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि जेनजी आन्दोलनकै क्रममा सरकारी तथा निजी संरचना तोडफोड र आगजनीमा संलग्न १२ जनालाई पनि काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरिसकेको छ। विभिन्न स्थानमा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाबारे कार्यालयमा परेका उजुरीका आधारमा अनुसन्धान जारी रहेको र घटनामा संलग्नहरूको खोजी तीव्र रूपमा भइरहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार, कार्यालयमा निजी संरचनामा भएको क्षतिको छवटा उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय बनेपाले तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको पनि प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुगेको प्रहरीले निष्कर्ष निकालेको छ। त्यस्तै, आन्दोलनकै बीच विभिन्न कारागारबाट भागेका ५३ जना कैदीबन्दीलाई काभ्रेपलाञ्चोक प्रहरीले विभिन्न मितिमा पक्राउ गरी जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालयमा बुझाएको छ।

यस्तै, चालु आर्थिक वर्षको चार महिनामा ५३ जना कैद तथा जरिवाना तोकिएका व्यक्तिलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ। अदालतले फैसला कार्यान्वयनका लागि पठाएको सूचीमा रहेका करिब ६ सय व्यक्तिमध्ये अहिलेसम्म ५३ जनालाई पक्राउ गरी उनीहरूबाट १२ वर्ष ८ महिना ७ दिन कैद र रु २ करोड ६७ लाख ५९ हजार ९०० जरिवाना असुल भएको सूचना अधिकारी विष्टले बताए।

प्रहरीका अनुसार, अदालतले दिएको सूचीअनुसार अझै पाँच सय ४३ जना कैद तथा सजाय तोकिएका व्यक्ति फरार रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट