जेनजी आन्दोलनमा लिटिएको पेस्तोल झापामा फेला, पेस्तोलसहित तीन जना पक्राउ
जेनजी आन्दोलनले विध्वंश गरेको दिन, भदौ २४ गते रानीपोखरीस्थित काठमाडौं महानगरीय प्रहरी कार्यालयबाट लुटिएका दुई थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाका दुई र इलामका एक जना रहेका छन्।
प्रहरीले लागूऔषध कारोबारमा सक्रिय समूहबारे अनुसन्धान गर्दै जाँदा लुटिएका हतियार उनीहरूकै कब्जामा फेला पारेको हो।
सबैभन्दा पहिले दमक नगरपालिका–८ का २५ वर्षीय सरोज पुरी पक्राउ परेका थिए। आन्दोलनका क्रममा उनी काठमाडौं पुगेका थिए। उनको घरको कोठाबाट रानीपोखरीबाट लुटिएको टाइप - ५४ पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद भएको हो ।
सोधपुछमा पुरीले अर्को पेस्तोल र केही गोली दमक–६ प्रशान्ती टोलका २९ वर्षीय विश्व लिङ्देनलाई दिएको बताएका थिए । विश्व नेपाली कांग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य विश्वदीप लिङ्देनका छोरा हुन्।
पुरीको बयानका आधारमा प्रहरीले विश्वलाई पनि घरबाटै समातेको छ। उनले आफूसँग रहेको हतियार इलामका साथीलाई बेचिदिएको बताए। त्यसपछि प्रहरीले इलामको चुलाचुली गाउँपालिका–४ आइतबारे पुगेर ३० वर्षीय पवन हाङसुङ्वालाई नियन्त्रणमा लियो। उनले २० हजार रुपैयाँमा पेस्तोल किनेको र बारीमा लुकाएर राखेको स्वीकारे। उत्खनन् गर्दा रातो प्लास्टिकमा बेरेर राखिएको, पाँच राउण्ड गोली लोड गरिएको चाइनिज पेस्तोल भेटिएको प्रहरीले जनाएको छ। माटोमा गाडिएकाले पेस्तोलमा खिया लागेको थियो।
अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार तीनै जना लागूऔषध प्रयोगकर्ता देखिएका छन् र प्रारम्भिक अनुसन्धानपछि विस्तृत छानबिनका लागि रानीपोखरी प्रहरी कार्यालयले मुद्दा अघि बढाउनेछ।
बरामद दुवै पेस्तोल, २० राउण्ड गोली र पक्राउ परेका तीनै जनालाई काठमाडौं पठाइएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस