Techie IT
२०८२ पौष २७, आइतबार

ई–सेवामार्फत करोडौँ अवैध कारोबार गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ


प्रहरीले कम्पनीका कागजात दुरूपयोग गरी ‘ई–सेवा’मार्फत करोडौँ रुपैयाँको अवैध कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–७ कीर्तिपुरका १९ वर्षीय क्रमिक उप्रेतीलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार अनधिकृत व्यक्तिले वाइड–स्पेस इन्टरनेशनल प्राइभेट लिमिटेड को नाममा आन्तरिक राजस्व विभागबाट जारी स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजात दुरूपयोग गरी ई–सेवाको ‘मर्चेन्ट वालेट’ र ‘वालेट’ खोलेर गैरकानुनी रूपमा आर्थिक कारोबार गरेको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा ई–सेवा मर्चेन्ट आइडी २२२२०२००१८२१७५२७ बाट ५६ लाख ३३ हजार ६०३ रुपैयाँ ७६ पैसा तथा ई–सेवा वालेटमार्फत ५६ लाख ३१ हजार ६०३ रुपैयाँ ७६ पैसा बराबरको कारोबार भएको खुल्न आएको प्रहरीले जनाएको छ। यसरी सट्टेबाजीलगायतका प्रयोजनका लागि कुल एक करोड १२ लाख रुपैयाँभन्दा बढीको अवैध कारोबार गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले उप्रेतीको साथबाट एक थान ल्यापटप, विभिन्न मोडेलका दुई थान मोबाइल फोन, एनसेलका १६ थान सिमकार्ड, नमस्तेका तीन थान सिमकार्ड, स्मार्ट सिमकार्ड एक थान, एक थान पेन ड्राइभ तथा एक थान मेमोरी कार्ड बरामद गरेको जनाएको छ।

पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर तथा सट्टेबाजीजन्य कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता आचार्यले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट