Techie IT
२०८३ कार्तिक ३, सोमबार

चाडपर्व लक्षित सामान सीमापारि नै ठप्प: तातोपानी नाका निरन्तर खोल्न सीमापार वाणिज्य सङ्घको ताकेता


कात्तिक १ गतेदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको नेपाल–चीन जोड्ने उत्तरी तातोपानी नाकालाई निरन्तर र नियमित रूपमा सञ्चालन गर्न व्यवसायीहरूले माग गरेका छन्।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीका अनुसार ३ दिनको छोटो अवधिमा चीनतर्फ रोकिएका सबै मालवाहक सवारीसाधन नेपाल भित्रिन नसक्ने भएकाले चाडपर्व लक्षित सामान सीमापारि नै रोकिने जोखिम बढेको छ।

“चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दसैँ-तिहारलगायतका चाडपर्वलाई लक्षित गरिएका सामान बोकेका ४५ भन्दा बढी कन्टेनरहरू रोकिएका छन्। तीन दिन मात्रै नाका खोल्दा ती सामान ल्याउन सम्भव छैन, त्यसैले नाकाको नियमित सञ्चालन अत्यावश्यक छ,” पराजुलीले भने।

सङ्घले चीन सरकार तथा नेपालस्थित चिनियाँ दूतावासलाई ध्यानाकर्षण पत्र बुझाउँदै नाका निरन्तर सञ्चालनको माग गरिसकेको छ। रोकिएका सामानहरूमा मुख्य गरी फलफूल, कृषिजन्य उपज तथा मौसमी व्यापारिक सामग्रीहरू रहेकाले समयमै नभित्र्याए बिग्रिएर ठूलो आर्थिक क्षति हुने चेतावनी दिइएको छ। अन्य नाकाहरू सहज नभएको अवस्थामा दुई देशबिचको व्यापारलाई सुचारु राख्न तातोपानी नाका पूर्ण रूपमा खुलाउनुपर्ने व्यवसायीहरूको भनाइ छ।

यसैबिच, तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरका अनुसार नाका खुलेपछि आइतबार तीन वटा र सोमबार साँझसम्म थप सात वटा मालवाहक कन्टेनर मात्र नेपाल प्रवेश गरेका छन्। चिनियाँ पक्षले ठुला कार्गो ट्रकका लागि मात्र अनुमति दिएका कारण साना कन्टेनरहरू आउन नसकेको उनले जानकारी दिए। नेपाल भित्रिएका कन्टेनरहरूमा फलफूल, जुत्ता-चप्पल, तयारी पोसाक तथा कृषिजन्य सामग्रीहरू रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट