Techie IT
२०८२ माघ ३, शनिबार

७५३ स्थानीय तहलाई नाम र हिज्जे एकरूप गर्न संघीय मन्त्रालयको निर्देशन


सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहलाई आफ्नो नेपाली र अङ्ग्रेजी नामको हिज्जेमा एकरूपता कायम गर्न निर्देशन दिएको छ।

स्थानीय तहको नाम र हिज्जे फरक–फरक हुँदा सरकारी कागजात बनाउने क्रममा सेवाग्राहीले गम्भीर सास्ती भोग्नुपरेको गुनासो आएपछि मन्त्रालयले यो कदम चालेको हो। मन्त्रालयको सङ्घीय मामिला शाखाले हालै परिपत्र जारी गर्दै सबै स्थानीय तहलाई १५ दिनभित्र आफ्नो नामको आधिकारिक हिज्जे पठाउन निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार संघ, प्रदेश तथा स्थानीय तहबाट जारी हुने नागरिकता, राहदानी, व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह), राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाण–पुर्जा, सवारी चालक अनुमतिपत्र तथा शैक्षिक प्रमाणपत्रजस्ता महत्त्वपूर्ण कागजातमा स्थानीय तहको नाम फरक–फरक हिज्जेमा उल्लेख हुने गरेको पाइएको छ। विशेषगरी अङ्ग्रेजी नाम लेख्दा विभिन्न निकायले फरक–फरक हिज्जे प्रयोग गर्दा सेवाग्राहीको विवरण नमिल्ने र त्यसले कानुनी तथा प्रशासनिक झन्झट सिर्जना गरेको मन्त्रालयको निष्कर्ष छ।

मन्त्रालयले जारी गरेको निर्देशनमा नेपाल राजपत्रमा प्रकाशित नामसँग अक्षर, भाव र वर्णविन्यास (हिज्जे) नमिल्ने गरी कुनै फरक नपार्न स्पष्ट रूपमा भनिएको छ। प्रत्येक स्थानीय तहले आफ्नो कार्यपालिकाबाट आधिकारिक निर्णय गराई मन्त्रालयले तोकेको ढाँचामा विवरण उपलब्ध गराउनुपर्नेछ।

उक्त ढाँचामा नेपाल राजपत्रमा प्रकाशित नाम, सुधार गर्नुपर्ने विषय, कायम हुनुपर्ने नेपाली नाम, अङ्ग्रेजी नाम तथा वेबसाइटमा प्रयोग हुने नाम स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयले स्थानीय तहबाट प्राप्त विवरण सङ्कलन गरेपछि सबै सरकारी प्रणाली, डिजिटल पोर्टल तथा वेबसाइटहरूमा एउटै नाम र हिज्जे लागू गर्ने योजना बनाएको छ। स्थानीय तहहरूले तयार पारेको विवरण मन्त्रालयको सूचना प्रविधि शाखा, सम्बन्धित स्थानीय तहको इमेल तथा आधिकारिक पोर्टलमार्फत बुझाउनुपर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट