हिमाल आरोहणको नाममा नक्कली हेलिकप्टर उद्धार, बीमाबाट अर्बौँ ठगी गर्ने ६ जना पक्राउ
हिमाल आरोहण गर्न आएका विदेशी नागरिकलाई हेलिकप्टरमार्फत ‘नक्कली उद्धार’ गरी बीमाबाट रकम दाबी गर्दै ठगी गरेको आरोपको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार पत्रकार सम्मेलन गरी हिमाल आरोहणका क्रममा हुँदै आएको नक्कली उद्धार, अस्पताल लैजाने बहानामा बीमाबाट रकम असुल गर्ने गिरोहबारे सार्वजनिक गरेको हो।
सिआइबी प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मनोजकुमार केसीका अनुसार यस प्रकरणको अनुसन्धान साढे दुई महिनादेखि चलिरहेको थियो।
प्रहरीले माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी, अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्स्पेरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे तथा म्यानेजर सुवास केसीलाई पक्राउ गरेको हो।
एआइजी केसीका अनुसार प्रारम्भिक चरणमा उद्धार कम्पनीसँग सम्बन्धित व्यक्तिहरू पक्राउ परेका छन्। तर घटनाको सञ्जाल अझै ठूलो रहेको उनको भनाइ छ।
‘यो विषय अत्यन्त संवेदनशील भएकाले लामो समयदेखि अनुसन्धान गरिरहेका थियौँ। अझै गहिरो अनुसन्धान गर्नुपर्ने देखिन्छ,’ उनले भने। यस किसिमको ठगीबारे केही वर्षअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत समाचार आएका थिए। २०७५ सालमा पर्यटन मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन प्रहरीले पाइसकेको सिआइबीले जनाएको छ।
पछिल्लो पटक यही वर्ष असोजमा नक्कली उद्धार भइरहेको उजुरी सिआइबीमा पुगेपछि अनुसन्धान सुरु गरिएको थियो। राष्ट्र बैंकबाट प्राप्त स्विफ्ट कोडमार्फत अन्तर्राष्ट्रिय भुक्तानी विवरण विश्लेषण गरिएको एआइजी केसीले बताए।
अनुसन्धानका क्रममा माउन्टेन रेस्क्यू सर्भिसले गरेका १,२४८ उद्धारमध्ये १७१ वटा नक्कली देखिएको छ। नेपाल चार्टर्ड सर्भिसका ४७१ उद्धारमध्ये ७५ र एभरेस्ट एक्स्पेरियन्स एन्ड एसोसिएट्सका ६०१ उद्धारमध्ये ७१ वटा शंकास्पद रहेको सिआइबीले जनाएको छ।
यी तीन कम्पनीले मिलेर एक करोड ९६ लाख ९० हजार अमेरिकी डलर (करिब दुई अर्ब ८७ करोड रुपैयाँ) बराबरको बीमा दाबी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एआइजी केसीले जानकारी दिएका छन् ।
सिआइबीका अनुसार हिमाल आरोहणमा जाने विदेशी नागरिकको बीमा गरिएको हुन्छ। सामान्य अवस्थामा केही उचाइ पुगेपछि ‘लेक लाग्ने’ समस्या देखिन सक्छ। तर कम्पनीका प्रतिनिधिहरूले त्यसलाई गम्भीर बनाएर हेलिकप्टर उद्धार नगरे ज्यान जोखिममा पर्ने भन्दै आरोहीलाई त्रसित बनाउने गरेको पाइएको छ।
‘सामान्य लेक लाग्दा केही मिटर तल झार्दा निको हुन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘तर त्यो प्रक्रिया नअपनाई सिधै हेलिकप्टरबाट अस्पताल पुर्याएर बीमा दाबी गरिएको देखियो।’
उद्धारपछि बीमा रकम दाबी गर्न कागजात किर्ते गरिएको समेत अनुसन्धानमा खुलेको छ। लुक्लाबाट पाँच जनाको उद्धार भएको एयर ट्राफिक कन्ट्रोल रेकर्ड हुँदा बीमाका कागजातमा भने दुई–दुई जनाको छुट्टाछुट्टै उद्धार देखाइएको पाइएको प्रहरीले जनाएको छ।
एक उडानको लागत ३१ हजार अमेरिकी डलरसम्म देखाइने र अस्पताल खर्चका नाममा ११ हजार डलरसम्म बिल बनाइने गरेको विवरण पनि सिआइबीले सार्वजनिक गरेको छ।
यस प्रकरणमा आपराधिक लाभ लिएको, संगठित अपराधलगायतका अभियोग आकर्षित हुने प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस