सरकार नागरिकमैत्री छ, कबडी खेललाई उच्च प्राथमिकता दिन्छौँ - गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार नागरिकमैत्री भएकाले नागरिकका समस्या समाधानका लागि सधैँ सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताएका छन्।
अखिल नेपाल कबडी सङ्घद्वारा शुक्रबार आयोजित २१औँ महिला तथा २५औँ पुरुष राष्ट्रिय कबडी प्रतियोगितामा बोल्दै उनले मुलुकमा सुशासन कायम गर्दै शान्ति–सुरक्षा, सामाजिक न्याय तथा नागरिकको जीवनस्तर उकास्ने कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए।
अन्तरराष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताबाट पदक भित्र्याउन सक्ने सम्भावना भएको खेलका रूपमा कबडी नेपालमा अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै मन्त्री अर्यालले सरकारले यसलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
स्वदेशमै खेलेर जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न खेललाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिँदै उनले खेलप्रति खेलाडीको आकर्षण बढाउने खालका योजना र नीति निर्माण गर्नुपर्ने बताए।
अखिल नेपाल कबडी सङ्घका अध्यक्ष तुलसी थापाले नेपाली युवा अवसरको खोजीमा विदेशतर्फ आकर्षित भइरहेको वर्तमान अवस्थामा खेलाडीलाई स्वदेशमै खेल्न सक्ने सहज वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याए।
सङ्घका महासचिव अरविन्द झाले देशभरका ४२ जिल्लामा मान्यता प्राप्त गरेको सङ्घले कबडी खेललाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै खेलाडीको हकहित संरक्षण गर्दै लैजाने जानकारी दिए।
सातै प्रदेशका करिब २४० खेलाडीको सहभागितामा सम्पन्न प्रतियोगितामा नेपाली सेनाको टोली प्रथम तथा सशस्त्र प्रहरीको टोली दोस्रो भएको र दुवैलाई पुरस्कृत गरिएको आयोजकले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस