Techie IT
२०८२ माघ २०, मंगलबार

फागुन २१ को चुनावका लागि भोली सेना मैदानमा उत्रिदै


आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन एकीकृत सुरक्षा योजना २०८२ अनुसार बुधबारदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुने भएका छन्।

सरकारले निर्वाचन अवधिको शान्ति–सुरक्षा सुदृढ पार्न यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ। निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालन हुन लागेका हुन्।

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटाइनेछन्। मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो तहको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। सशस्त्र प्रहरी बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ।

नेपाली सेना बाहिरी सुरक्षा घेरामा रही प्रमुख जिम्मेवारी सम्हाल्नेछ। सेनाका अनुसार बुधबारदेखि १६५ वटै निर्वाचन क्षेत्रमा सेना परिचालन हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका थिए।

निर्वाचन सुरक्षालाई केन्द्रमा राख्दै आवश्यकताअनुसार सेनाका ‘वेस’ खडा गरिने र संयुक्त गस्ती सञ्चालन हुने सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। उनका अनुसार सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।

एकीकृत सुरक्षा योजनाले मार्गदर्शन गरेअनुसार निर्वाचनभन्दा एक महिना अघिदेखि सेना फिल्डमा खटिएको हो। निर्वाचनका क्रममा सेनाले तीन चरणमा सुरक्षा व्यवस्था सम्हाल्नेछ। निर्वाचनपूर्व मतपत्र छपाइ र ढुवानी, मतदानस्थल तथा मतगणनास्थलको सुरक्षा, मतपेटिका ढुवानीलगायत जिम्मेवारी सेनाले लिनेछ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा विमानस्थल, कारागारलगायत संवेदनशील संरचनाको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ। मतदानका समयमा सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा प्रत्याभूति दिलाउनेछ।

आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि आचारसंहिता लागू गरेको छ। यसपटक ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन्।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। नेपाल प्रहरीका तर्फबाट ७७ हजार जनशक्ति परिचालित हुनेछन् भने एक लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ।

मतदानस्थललाई जोखिमका आधारमा वर्गीकरण गरिएको छ। दुई हजार ८४५ मतदानस्थल सामान्य, चार हजार ४४२ संवेदनशील र तीन हजार ६८० मतदानस्थल अति संवेदनशीलका रूपमा सूचीकृत छन्।

सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जनासँगै १५ हजार ११० निर्वाचन प्रहरी गरी कूल ४९ हजार ६८६ जनशक्ति परिचालित हुनेछन्। निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइएको र कुनै पनि घटनामा १० मिनेटभित्र घटनास्थल पुग्नेगरी टोली तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट