मौन अवधिमा होली मनाउन कञ्चनपुर प्रशासनको ६ बुँदे कडा निर्देशन
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मौन अवधिमा पर्ने होली पर्व मर्यादित र अनुशासित ढङ्गले मनाउन आग्रह गरेको छ।
शान्तिसुरक्षा कायम राख्न तथा निर्वाचन आचारसंहिता पालना सुनिश्चित गर्न प्रशासनले शनिबार ६ बुँदे निर्देशन जारी गर्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।
प्रशासनले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सरोकारवालालाई संयमता अपनाउन र सौहार्दपूर्ण वातावरण कायम राख्न आग्रह गरेको छ। सूचनामा आचारसंहिता–२०८२ को पूर्ण पालना गर्न र उल्लङ्घन देखिए सम्बन्धित निकायमा जानकारी गराउन भनिएको छ।
निर्देशनअनुसार होली मनाउने नाममा भीडभाड हुने कार्यक्रम गर्नुअघि अनिवार्य अनुमति लिनुपर्नेछ। सार्वजनिक स्थानमा होहल्ला गर्न, चर्को आवाजमा डिजे बजाउन तथा छरछिमेकलाई असर पर्ने गतिविधि गर्न नपाइने जनाइएको छ।
यसैगरी कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने वा फोहर छ्याप्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने, जबर्जस्ती वा अमर्यादित व्यवहार गर्नेलाई कडा कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
निर्वाचन सुरक्षामा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई अवरोध नगर्न समेत प्रशासनले विशेष आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीद्वारा हस्ताक्षरित सूचनामा निर्वाचन र पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस