‘किङ अफ बालान’देखि ‘किलर्स ब्रदर’सम्मका ग्याङ्गमाथि प्रहरीको कारबाही, २५ युवा पक्राउ
सिरहा । सामाजिक सञ्जालमार्फत ग्याङ्ग संस्कृति फैलाउँदै समाजमा त्रास र अशान्ति सिर्जना गर्ने गतिविधिमा संलग्न २५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार ‘किङ अफ बालान’, ‘किङ अफ भगवानपुर’, ‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’ लगायतका नाममा समूह गठन गरी टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा गालीगलौज, धम्की र उच्छृङ्खल गतिविधि प्रदर्शन गर्ने भिडियोहरू पोस्ट गर्ने कार्य भइरहेको थियो।
यस्ता समूहमा आबद्ध युवाहरूले ट्राफिक नियमको खुलेआम उल्लङ्घन गर्दै बिना हेल्मेट, आवश्यक कागजपत्रबिना तथा नम्बर प्लेट नराखिएका मोटरसाइकलमा तीनदेखि चार जनासम्म सवार भएर राजमार्गमा होहल्ला गर्ने, डर–त्रास फैलाउने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधि गर्दै आएका थिए।
सिरहा–चोहर्वा सडकखण्डमा प्रहरीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना र भगवानपुर गाउँपालिकाका ५ जना रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट २१ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका सबैलाई हिरासतमा राखेर ग्याङ्ग गतिविधि, सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्री तथा अन्य सम्भावित आपराधिक संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस