श्रीमतीको बञ्चरो हानी हत्या गर्ने यादव चार महिनापछि पक्राउ
आफ्नै श्रीमतीको बीभत्स हत्या गरेर फरार रहेका एक अभियुक्तलाई रौतहट प्रहरीले ४ महिनापछि पक्राउ गर्न सफल भएको छ।
पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादव रहेका छन्। उनले गत फागुन ३ गते आफ्नै घरको सुत्ने कोठामा ३२ वर्षीया श्रीमती आरती देवी यादवमाथि धारिलो हतियार (बञ्चरो) प्रहार गरी हत्या गरेका थिए। हत्या लगत्तै उनी फरार भएका थिए।
फरार यादवलाई पक्रन जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरको संयुक्त टोलीले निरन्तर खोजतलास र प्राविधिक विश्लेषण (कल डिटेल तथा लोकेसन ट्र्याकिङ) गरिरहेको थियो। सोही क्रममा उनलाई फतुवा विजयपुर नगरपालिका–८ विजयपुर क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा घेरा हाली नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार पक्राउ परेका यादवमाथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत हिरासतमा राखेर थप कानुनी कारबाही र अनुसन्धान अघि बढाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस