एकैदिन पाँच स्थानमा चोरी गर्ने ३३ वर्षीय महर्जन पक्राउ
ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच स्थानमा चोरी गर्ने एक जनालाई प्रहरीले सुनचाँदीका गहना र नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१४ ठैब बस्ने ३३ वर्षीय सुरज महर्जन रहेका छन्।
गत साउन २२ गते बिहान करिब ८ बजे हरिसिद्धीस्थित एक घरको कोठामा चोरी भएको घटना बाहिर आएपछि प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले सीसीटीभी फुटेजको विश्लेषण गर्दै प्राविधिक र व्यावहारिक अनुसन्धान तीव्र पारेको थियो। सोही क्रममा बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा सवार भई भाग्दै गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ परेका महर्जनको साथमा रहेको ‘क्याट’ लेखिएको कालो झोला खानतलासी गर्दा विभिन्न प्रकारका सुन, चाँदी र डायमण्डजस्ता देखिने बहुमूल्य गहनाहरू, ११ हजार ३ सय ९० रुपैयाँ नगद तथा दुई थान लेडिज झोला फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका महर्जनमाथि चोरीसम्बन्धी कसूरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस