मौसममा फेरि बदलाव: देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी प्रदेशसहित वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। विशेष गरी कोसी प्रदेशका हिमाली तथा पहाडी भूभाग र वाग्मती तथा गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
त्यस्तै, आज राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भूभागमा आंशिक बादSल लाग्नेछ भने अन्य भूभागको मौसम सफा रहनेछ। राति पनि कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको क्रम जारी रहन सक्ने विभागले जानकारी दिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिन तराईका भूभाग, उपत्यका तथा नदी किनारका खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। यसबाट दैनिक जनजीवन, यातायात तथा उडान सेवामा सामान्य असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस