Techie IT
२०८३ असोज ३०, शुक्रबार

डेढ अर्बको हुण्डी र क्रिप्टो कारोबार गरेको आरोपमा दुई भारतीय पक्राउ


ललितपुरको सानेपास्थित कालोपुलमा रहेको किराना पसलमा हुन्डी र क्रिप्टो करेन्सी कारोबार गर्दै आएका दुई भारतीय पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ सानेपामा बस्दै आएका ४३ वर्षीय रुपेशकुमार गुप्ता र पूर्वी चम्पारण बिजबानी स्थायी घर भई हाल सोही स्थानमा बस्दै आएका २२ वर्षीय विपीन कुमार रहेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार छापा मारी उनीहरूलाई पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए। 

सिआइबीको टोलीले गुप्ताले सञ्चालन गर्दै आएको 'राजतिर्थ ट्रेडर्स' नामक किराना पसलबाट हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबार भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूले एक अर्ब ५० करोडभन्दा बढीको हुण्डी तथा क्रिप्टो कारोबार गरिसकेको प्रहरीले जनाएको छ। 

पक्राउको क्रममा प्रहरीले पाँच थान मोबाइल, एक थान सीसीटिभी डीभीआर सेट, नेपाली रुपैयाँ आठ लाख बीस हजार र भारतीय रुपैयाँ दस हजार नगद बरामद गरेको छ। 

साथै, विपीन कुमारबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने ७४ ग्राम तौलको वस्तु पनि बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता, २०७४ अनुसार अभौतिक मुद्रा प्रयोग गर्न नहुने, हुण्डी कारोबार गर्न नहुने र वन्यजन्तु सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट