यमनको राष्ट्रपति कार्यालय परिसरमा हुथीको भीषण क्षेप्यास्त्र प्रहार
यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरलाई निशाना बनाएर हुथी समूहले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
यमन सरकारका अनुसार मृत्यु हुने र घाइते हुनेमा कार्यालय परिसरमा कार्यरत सुरक्षाकर्मी तथा सर्वसाधारण कर्मचारीहरू रहेका छन्।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमन सरकारको अस्थायी मुख्यालयका रूपमा रहेको 'अल-माशिक' राष्ट्रपतिको कार्यालय परिसरमा उक्त आक्रमण भएको हो। बिहीबार उक्त परिसरमा पाँचवटा क्षेप्यास्त्र प्रहार गरिएको र एडेनको अल-बुराइका क्षेत्रमा रहेको साउदी नेतृत्वको गठबन्धन सेनाको मुख्यालयलाई समेत निशाना बनाइएको स्थानीय सुरक्षा अधिकारीहरूले बताएका छन्।
आक्रमणका क्रममा एडेन शहरभर ठूलो विस्फोटको आवाज सुनिएको थियो भने राष्ट्रपतिको कार्यालय आसपासको क्षेत्रबाट धुवाँको बाक्लो मुस्लो उठेको प्रत्यक्षदर्शीहरूले जनाएका छन्। हुथी समूहविरुद्ध साउदी समर्थित सरकारी सेनालाई परिचालन गर्ने विषयमा हालै सोही परिसरमा उच्चस्तरीय बैठकहरू आयोजना गरिएका थिए।
यसैबीच, हुथी समूहका सैन्य प्रवक्ता याह्या सरियाले एडेनस्थित ‘साउदी सैन्य कारबाही मुख्यालय’ लाई लक्षित गरी आक्रमण गरिएको पुष्टि गरेका छन्। यद्यपि, उनले उक्त मुख्यालयको स्पष्ट स्थान भने खुलाएका छैनन्।
हुथी समूहद्वारा सञ्चालित 'अल-मसिरा' टेलिभिजनका अनुसार राष्ट्रपतिको कार्यालय परिसरभित्र साउदी अधिकारीहरूले सञ्चालन गर्दै आएको सैन्य कारबाही मुख्यालयमा आक्रमण गरिएको र सो क्रममा साउदी सैन्य अधिकारीहरू समेत हताहत भएका छन्। तर, हुथीको यस दाबीबारे साउदी अरब वा साउदी नेतृत्वको गठबन्धनले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस