Techie IT
२०८३ असोज १२, सोमबार

कलाकार शाह अमरभावना राष्ट्रिय स्रष्टा सम्मानद्वारा सम्मानित


प्रतिष्ठित कलाकार तथा गीतकार निर शाह ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’बाट सम्मानित भएका छन्। 

गीतकार संघ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा शाहलाई नगद १ लाख ५१ हजार रुपैयाँसहित सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मानित गरिएको हो।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा विशिष्ट गीतकार किरण खरेल र संघका अध्यक्ष वसन्त बित्यासी थापाले संयुक्त रूपमा शाहलाई सो सम्मान प्रदान गरेका हुन्।

विगत पाँच दशकदेखि नेपाली कला र गीतसङ्गीत क्षेत्रमा अविचलित योगदान पुर्याउँदै आएका शाहका “बादल बनाई देउ आकार बदल्न सकुँ”, “गहिराइमा डुब्दै नडुव”, “पर्खिबसे आउला भनि”, “कहिलेकाहीँ हाँस्छु धेरै नै हाँस्छु”, “तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल”, “खुल्दैन ताल्चा त्यो ढोकाको”, “हिउँभन्दा चिसो, आगोभन्दा तातो”, “आँखैमा कसैको तस्बिर”, “अर्को जुनी चाहंदैन मलाई”, “प्यारी वसन्ती”, “पसिनाको जलैले” लगायतका दर्जनौँ गीतहरू अत्यधिक लोकप्रिय छन्।

अन्य सम्मानित स्रष्टा तथा व्यक्तित्वहरू
डायस्पोरा गीतकार सम्मान: विदेशमा रहेर पनि नेपाली गीतिलेखनमा सक्रिय गीतकार नीलम आङ्बुहाङ राई (रचनाहरू: पुरानो हुँदैन माया, पानी मिठो मेरो हजुर इलाम बजारको) लाई नगद १५ हजार रुपैयाँसहित सम्मानित गरियो।

विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान: लोहोरुङ राई भाषाका स्रष्टा नइन्द्र लोहोरुङलाई नगद २५ हजार २५२ रुपैयाँसहित प्रदान गरियो।

हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान (२०८२): गीतकारद्वय सुशीला पौडेल र अरुण तिवारीलाई जनही १५ हजार रुपैयाँसहित सम्मानित गरियो।

गीतकार संघ नेपाल पत्रकारिता सम्मान (२०८२): हिमालय टाइम्सका उपसम्पादक तथा वरिष्ठ पत्रकार कृष्ण भुसाललाई नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मान गरियो।

जगतमर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार (२०८२): कल्पना खरेलको कृति ‘नन्दिनी’ र ज्ञानेन्द्र गदालको कृति ‘भोलीको आश उज्यालो प्रकाश’ लाई जनही ५७ हजार रुपैयाँसहित प्रदान गरियो।

भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार: डम्बर याक्सो (गीत: ‘म तिम्रो नजरमा’) र प्रवल विष्ट (गीत: ‘भुल्न सकिनँ’) लाई नगद ५७ हजार रुपैयाँसहित पुरस्कृत गरियो।

गीतसङ्गीत क्षेत्रका उल्लेख्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त समारोहमा विभिन्न विधाका स्रष्टाहरूलाई प्रोत्साहन गर्दै अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट