हाकिम कुटिएपछि इच्छाकामना गाउँपालिका ठप्प, आक्रमण गर्ने दुई जना धादिङबाट पक्राउ
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि बिहीबार उनकै कार्यकक्षभित्र सामूहिक रूपमा आक्रमण भएको छ। कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई गाडीसहित पक्राउ गरेको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालका अनुसार आक्रमणमा संलग्न अभियुक्तहरूलाई घटनालगत्तै फरार भइरहेको अवस्थामा धादिङको गजुरीबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवै जना र उनीहरूले प्रयोग गरेको गाडीलाई इलाका प्रहरी कार्यालय मुग्लिनको समन्वयमा थप अनुसन्धान र कानुनी कारबाहीका लागि चितवन ल्याइँदै छ।
पीडित प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार बिहीबार बिहान कार्यकक्षमा काम गरिरहेको समयमा अचानक छिरेका केही व्यक्तिले भित्रबाट ढोका बन्द गरेर आफूमाथि अन्धाधुन्ध सामूहिक आक्रमण गरेका थिए।
आक्रमणबाट घाइते भएका बस्नेतको अहिले इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।
कर्मचारी आन्दोलित: स्थानीय प्रशासनको शान्ति सुरक्षामाथि चुनौती दिँदै प्रमुख प्रशासकीय अधिकृतमाथि नै कार्यकक्षभित्र कुटपिट भएपछि गाउँपालिकाका कर्मचारीहरू आक्रोशित बनेका छन्। दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाहीको माग गर्दै कर्मचारीहरूले बिहीबारैदेखि गाउँपालिकाका सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलन सुरु गरेका छन्।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र पक्राउ परेकाहरूमाथि 'सार्वजनिक पदधारण गरेको व्यक्तिमाथि कार्यकक्षमै अभद्र व्यवहार तथा कुटपिट' गरेको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस