बलिउडमा फेरि अन्डरवर्ल्डको छाया, टाइगर माथिको आक्रमणले फेरि झस्कियो बलिउड
बलिउड अभिनेता टाइगर श्राफमाथि मुम्बईमा भएको गोलिप्रहारको प्रयासले भारतीय चलचित्र उद्योगमा संगठित अपराध र अन्डरवर्ल्डको पुरानो त्रास फेरि बल्झाएको छ। आइतबार साँझ मुम्बईको जुहु क्षेत्रमा फुटबल खेलेर आफ्नो बीएमडब्ल्यु (BMW) गाडीमा फर्किंदै गर्दा ३६ वर्षीय श्राफमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो।
घटनामा अभिनेता श्राफ सकुशल रहे पनि उनका चालक र घटनाको भिडियो खिच्न पुगेका एक भ्लगर घाइते भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार मुम्बई प्रहरीले घटनामा संलग्न भएको आशंकामा हालसम्म १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। आक्रमणका लागि प्रयोग गरिएका हतियार कुन-कुन राज्यबाट ल्याइयो र आक्रमणकारीलाई कसले रकम उपलब्ध गरायो भन्ने विषयमा गम्भीर छानबिन भइरहेको छ।
लरेन्स बिश्नोई गिरोहको दाबी र 'सलमान खान' कनेक्सन
घटनालगत्तै भारतका कुख्यात ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित व्यक्तिले सामाजिक सञ्जालमा आक्रमणको जिम्मेवारी लिएको दाबी गरेका छन्। साथै, अनिल पण्डित नाम बताउने एक व्यक्तिको अडियो रेकर्डिङ सार्वजनिक गर्दै टाइगर श्राफको अभिनेता सलमान खानसँग निकट सम्बन्ध रहेका कारण उनलाई निशाना बनाइएको दाबी गरिएको छ।
बिश्नोई गिरोहले लामो समयदेखि सलमान खानलाई ज्यान मार्ने धम्की दिँदै आएको छ। यद्यपि, मुम्बई प्रहरीले टाइगर श्राफमाथिको आक्रमणमा बिश्नोई गिरोहको प्रत्यक्ष संलग्नता अझै पुष्टि भइनसकेको र आक्रमणको मुख्य योजनाकारको खोजी भइरहेको जनाएको छ।
९० को दशकको अन्डरवर्ल्ड र वर्तमान अपराधको स्वरूप
सन् १९९० को दशक र २००० को सुरुवातमा मुम्बईको आपराधिक सञ्जाल (दाउद इब्राहिम, छोटा शकिल आदि) ले बलिउडमा ठूलो प्रभाव जमाएको थियो। त्यतिबेला ग्याङ्स्टरहरूले फिल्म निर्माणमा अवैध लगानी गर्ने, निर्माताहरूसँग फिरौती माग्ने र नदिए हिंसात्मक आक्रमण गर्ने गर्दथे। सन् १९९७ मा संगीत व्यवसायी गुलशन कुमारको हत्या र सन् २००० मा फिल्म निर्माता राकेश रोशनमाथि भएको ज्यानलेवा हमला त्यसबेलाका चर्चित घटना हुन्।
मुम्बईका पूर्व प्रहरी अधिकारी डी सिवानन्दनका अनुसार अहिलेको घटनालाई विगतकै अन्डरवर्ल्डको पुनरागमनका रूपमा भने हेर्न मिल्दैन। अहिलेका ग्याङ्स्टरहरू पुरानो मुम्बई माफियाभन्दा फरक प्रकृतिका छन्। सन् २०१५ देखि जेलमा रहेका लरेन्स बिश्नोईले जेलभित्रैबाट प्रविधिको प्रयोग गरी आफ्ना सुटरहरू परिचालन गर्ने गरेको बताइन्छ।
सन् २०२४ मा सलमान खानको घरबाहिर भएको गोलीकाण्ड र सोही वर्ष सलमानका निकट मानिने राजनीतिज्ञ बाबा सिद्दिकीको हत्यामा पनि बिश्नोई गिरोहकै हात रहेको प्रहरी निष्कर्ष थियो।
विशेषज्ञहरूका अनुसार अहिलेका ग्याङ्स्टरहरूले आफ्नो प्रभाव र त्रास फैलाउन सामाजिक सञ्जालको व्यापक प्रयोग गर्ने गरेका छन्। धम्की र आक्रमणको जिम्मेवारी अनलाइनमार्फत लिँदा उनीहरूको त्रास मुम्बईबाहिर पनि सजिलै पुग्ने गरेको छ।
टाइगर श्राफमाथि भएको यो घटनापछि सलमान खान र प्रसिद्ध फिल्म निर्माता रोहित शेट्टीको घरबाहिर सुरक्षा कडा पारिएको छ। यस्तै, भारतीय चलचित्रकर्मीहरूको संस्था अल इन्डिया सिने वर्कर्स एसोसिएसनले कलाकारहरूको सुरक्षा बढाउन सरकारसँग जोडदार माग गरेको छ।
बलिउडको आर्थिक कारोबारमा आपराधिक गिरोहको नियन्त्रण पुनः स्थापित भइनसके पनि यस्ता शृङ्खलाबद्ध घटनाले कलाकारहरूको सुरक्षामाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस