Techie IT
२०८३ कार्तिक ७, शुक्रबार

नाग्छुमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु, ३०० भन्दा बढी घर ध्वस्त


तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन्। चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमहरूका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ भने २१ जना सामान्य चोटपटक लागेका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार दक्षिणपश्चिम चीनको सिजाङ (तिब्बत स्वायत्त क्षेत्र) अन्तर्गत राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर उत्तर-पूर्वमा रहेको नाग्छु सहरको बाछेन काउन्टीलाई केन्द्रविन्दु बनाएर बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो।

३ सयभन्दा बढी घर भत्किए, विद्युत् र सञ्चार विच्छेद

शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको अद्यावधिक विवरण अनुसार भूकम्पका कारण ३०० भन्दा बढी घरहरू पूर्ण रूपमा ढलेका छन्। भूकम्प प्रभावित क्षेत्रमा विद्युत् तथा सञ्चार सम्पर्क विच्छेद भएको छ।

समुद्र सतहबाट करिब ४,८०० मिटरको उचाइमा रहेका दुर्गम गाउँहरू बढी प्रभावित भएकाले र प्रतिकूल भूगोलका कारण उद्धार कार्यमा ठूलो चुनौती थपिएको छ। चिनियाँ अधिकारीहरूले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गर्दै उच्च सतर्कताका साथ उद्धार तथा राहत टोलीहरू परिचालन गरेका छन्।

सन् २०२३ मा छिमेकी गान्सु प्रान्तमा ६.२ म्याग्निच्यूडको भूकम्प जाँदा १२० भन्दा बढी मानिसको मृत्यु भएपछिको यो सबैभन्दा घातक भूकम्प मानिएको छ।

स्थानीय नगर आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार प्रभावित क्षेत्रमा भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम भइरहेको छ भने उद्धार तथा राहत वितरणलाई निरन्तरता दिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट