ट्रम्पसँग मेरो व्यक्तिगत विवाद छैन - युक्रेनी राष्ट्रपति जेलेन्स्की
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको स्पष्ट पारेका छन्। टेलिभिजन च्यानल सीएनएन (CNN) सँगको अन्तर्वार्तामा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथिको प्रतिबन्ध हटाइएमा उनी अझ बढी शक्तिशाली बन्ने चेतावनी दिएका छन्। “यो मेरो र राष्ट्रपति ट्रम्पबीचको व्यक्तिगत विषय होइन। म प्रतिबन्ध हटाउने कुनै पनि कदमको पूर्ण विपक्षमा छु” जेलेन्स्कीले भने।
पछिल्लो समय अमेरिका र युक्रेनबीचको कूटनीतिक सम्बन्ध केही तनावपूर्ण बनेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी इन्धन खरिदसम्बन्धी सम्झौता अघि बढाउनु र रुसमाथि लगाइएका केही प्रतिबन्धहरू खुकुलो बनाउने नीति लिनुको जेलेन्स्कीले कडा आलोचना गर्दै आएका छन्।
अन्तर्वार्ताका क्रममा जेलेन्स्कीले पुटिनले युद्ध रोक्ने वास्तविक चाहना नदेखाएको आरोप लगाउँदै युक्रेनलाई कमजोर पार्ने कुनै पनि किसिमको सम्झौता आफूहरूलाई स्वीकार्य नहुने बताए। उनले वर्तमान युद्धमोर्चालाई यथास्थितिमा स्थिर राखेर युद्धविराम गर्ने र वार्ता अघि बढाउने सम्भावनाबारे संकेत गरे पनि रुसले अवैध रूपमा कब्जा गरेका युक्रेनी भूभागलाई रुसी क्षेत्रका रूपमा मान्यता दिन नसकिने स्पष्ट पारे।
“हाम्रो भूमि हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण छ, किनकि यो हाम्रा मानिसहरूको जीवन र अस्तित्वसँग जोडिएको छ। यो केवल वर्गकिलोमिटरको हिसाबकिताब मात्र होइन” उनले थपे।
रुसी आक्रमणबाट देशको रक्षा गर्न युक्रेनलाई हाल थप शक्तिशाली क्षेप्यास्त्र (मिसाइल) र आधुनिक हवाई रक्षा सामग्री (एयर डिफेन्स सिस्टम) अत्यावश्यक रहेको जेलेन्स्कीले उल्लेख गरे। उनले मित्र राष्ट्र तथा सहयोगी देशहरूलाई पुटिनमाथिको आर्थिक तथा कूटनीतिक प्रतिबन्ध कायम राख्न र युक्रेनलाई दिइँदै आएको सैन्य सहायता बढाउन पुन: अपिल गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस