युक्रेन युद्ध अन्त्य गर्न त्रिपक्षीय वार्ताका लागि पुटिन तयार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकाको मध्यस्थतामा युक्रेनसँग आगामी नोभेम्बर महिनादेखि शान्ति वार्ता पुनः सुरु गर्न सैद्धान्तिक रूपमा सहमत भएका छन्। रुसको सेन्ट पिटर्सबर्गस्थित कन्स्टान्टिन दरबारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग भएको करिब तीन घण्टा लामो भेटवार्तापछि क्रेमलिनले यस्तो जानकारी दिएको हो।
दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा रक्तपातपूर्ण मानिएको यो युरोपेली द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रयास स्वरूप भएको यो नवौँ व्यक्तिगत भेटपछि राष्ट्रपति पुटिनका वरिष्ठ सल्लाहकार युरी उसाकोभले वार्ता नोभेम्बर १० वा त्यसपछि संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा हुनसक्ने बताएका छन्।
वार्ताको प्रारम्भमा रुसले चार वर्षदेखि हिरासतमा राखिएका ७४ वर्षीय अवकाशप्राप्त अमेरिकी शिक्षक स्टेफन हबर्डलाई रिहा गरेको थियो। बैठकमा ट्रम्पका ज्वाइँ जारेड कुश्नरले समेत बिरामी अवस्थाका बाबजुद टेलिफोनमार्फत भाग लिएका थिए। प्राविधिक तहमा हुने आगामी त्रिपक्षीय (रुस, अमेरिका र युक्रेन) वार्तामा युद्ध अन्त्यपछिको सुरक्षा ढाँचा र दुई देशको सुरक्षा सुनिश्चितताबारे गहन छलफल हुने क्रेमलिनले जनाएको छ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले वार्ता प्रक्रियाप्रति सकारात्मक प्रतिक्रिया दिँदै आगामी नोभेम्बरको सुरुवातमै बैठक हुनुपर्नेमा जोड दिएका छन्।
तर, अर्कोतर्फ अमेरिकाले दिँदै आएको गुप्तचर सहयोग र सैन्य सञ्चारमा कम गरेपछि युक्रेन र उसका युरोपेली सहयोगीहरूमाझ भने चिन्ता बढेको छ। द्वन्द्वको फ्रन्टलाइनमै युद्ध रोक्ने (Freeze) न्यूनतम शर्तसहित सुरक्षा ग्यारेन्टीको माग गरिरहेको युक्रेन र आफ्ना अडानमा कायम रहेको रुसबीच हुने आगामी अबुधाबी वार्ताले शान्ति स्थापनामा कत्तिको निर्णायक मोड लिन्छ भन्ने विषयलाई विश्व समुदायले चासोका साथ हेरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस