Techie IT
२०८२ मंसिर ३, बुधबार

मधेश प्रदेशको राजनीति झनै जटिल बन्दै, आज १ बजे प्रदेश सभा बैठक आह्वान

एकातिर एमालेको शक्ति प्रदर्शन, अर्कोतिर सात दलको निरन्तर आन्दोलनबीच आजको बैठकबाट मधेश प्रदेशको राजनीति कुन दिशातिर मोडिने हो भन्नेबारे व्यापक चासो बढिरहेको छ।


कात्तिक २२ गतेदेखि अस्तव्यस्त बनेको मधेश प्रदेशको राजनीति अझै स्थिर हुन सकेको छैन। प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री नियुक्ति, त्यसपछिको केन्द्र सरकारबाट पदमुक्ति, मुख्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा र सडक आन्दोलनले राजनीतिक वातावरण झनै पेचिलो बनेका बेला सात राजनीतिक दलले सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी प्रदेश सभा बैठक आह्वान गर्न उपसभामुख बबिता राउत ईशरलाई पत्र दिएका थिए।

त्यसअनुसार उपसभामुख ईशरले आज दिउँसो १ बजेका लागि मधेश प्रदेश सभाको बैठक आह्वान गरेकी छन्। बैठकमा सभामुख मण्डलले पदअनुकूल आचरण नगरेको आरोपसहित दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। यो सम्बन्धी सूचना प्रदेश सभा सदस्यहरूलाई पठाइएको छ। मंगलबार ३२ जना सांसदले प्रदेश सभा बैठक बोलाउन माग गर्दै उपसभामुख ईशरलाई पत्र बुझाएका थिए।

नेकपाका संसदीय दलका नेता भरत साहका अनुसार २५ प्रतिशतभन्दा बढी प्रदेश सभा सदस्यले बैठक आह्वानको माग गरेपछि उपसभामुखले बैठक बोलाउन कानुनी आधार पुगेको छ। साहले सभामुखविरुद्ध दर्ता भएको प्रस्तावलाई प्रक्रियागत रूपमा अघि बढाउन बैठक आवश्यक रहेको बताए।

यसअघि उपसभामुख ईशरले सात दलका सांसदहरूको भौतिक उपस्थितिसहित बैठक सञ्चालन गर्न आग्रह आएको र कानुनी आवश्यकता पनि रहेकाले बिहान १० बजे कार्यव्यवस्था परामर्श समिति र दिउँसो १ बजे प्रदेश सभा बैठक सूचना प्रकाशित गर्न निर्देशन दिएकी थिइन्।

तर सभामुख रामचन्द्र मण्डलले भने बैठक आह्वानको अधिकार सचिवलाई मात्र रहेको बताउँदै उपसभामुखले विधि र प्रक्रिया मिचेर बैठक बोलाएको आरोप लगाएका छन्। उनीमाथि अविश्वास प्रस्ताव दर्ता भएको सात दिन पूरा भइसकेको छ। प्रदेश सभामा बहुमत सांसदहरू एमालेलाई एक्लो छाडेर अघि बढिरहेका छन्।

एकातिर एमालेको शक्ति प्रदर्शन, अर्कोतिर सात दलको निरन्तर आन्दोलनबीच आजको बैठकबाट मधेश प्रदेशको राजनीति कुन दिशातिर मोडिने हो भन्नेबारे व्यापक चासो बढिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट