Techie IT
२०८२ मंसिर ३, बुधबार

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्तहुनुको कारण यस्तो छ


जनकपुर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई बुधबार बसेको प्रदेशसभा बैठकले पदमुक्त गरेको छ। उनीविरुद्ध सात दलीय गठबन्धनले दर्ता गराएको 'पद अनुकूलको आचरण प्रस्तुत नगरेको' भन्ने अविश्वासको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि उनी स्वतः पदमुक्त भएका हुन्।

दुई तिहाइ मतले प्रस्ताव पारित
बैठकमा कुल ७८ जना प्रदेशसभा सदस्यहरू उपस्थित रहेका थिए।

प्रस्तावको पक्षमा: ७६ मत ।

प्रस्तावको विपक्षमा: शून्य मत ।

उपसभामुख बबिता कुमारी राउत ईशरले उक्त प्रस्तावको पक्षमा परेको ७६ मत, प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमत अर्थात् ७२ भन्दा बढी भएकोले पारित भएको घोषणा गरेकी थिइन् ।

उपसभामुखले नेपालको संविधानको धारा १८२ उपधारा ६ खण्ड 'ग' र प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८२ को उपनियम ४ बमोजिम सभामुख मण्डल पदमुक्त भएको घोषणा गरेकी हुन्।

सभामुख मण्डल भने आज बुधबारको बैठकमा अनुपस्थित रहेका थिए। सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले मण्डलविरुद्ध गएको कात्तिक २७ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

प्रदेश सभा सदस्य कुँवर कान्त झाले नियमावलीको नियम १८२ को उपनियम १ बमोजिम सभामुखले पद अनुकूल आचरण पेस नगरेको प्रस्ताव सदनमा पेस गरेका थिए। छलफलपछि पनि उनले प्रस्ताव फिर्ता नलिएपछि मत विभाजनको प्रक्रिया अघि बढाइएको थियो।

गत कात्तिक २३ गते प्रदेश सभा बैठक सञ्चालन गर्दा सभामुख मण्डलले पदीय आचरण विपरीत कार्य गरेको भन्दै नेपाली काँग्रेससहितका ७ दलले विरोध जनाएका थिए।

राजनीतिक समीकरणमा फेरबदल
सभामुखको विपक्षमा उभिएर मतदान गर्ने दलहरूमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी रहेका थिए।

बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट प्रदेश सभा सदस्य शारदा थापा मात्रै उपस्थित भएकी थिइन्। उनले सुरुमा 'नियमापत्ति' जनाएपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको थियो, तर त्यसपछि उनी बैठकमा देखा परिनन्। नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल सङ्घीय समाजवादीका सांसदहरू मतदान प्रक्रियामा अनुपस्थित रहेका थिए।

पहिलो कार्यकालमा पनि पद गुमाएका थिए मण्डलले
यो सभामुख मण्डलको पदमुक्त भएको दोस्रो पटक हो। यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा पनि उनी पदमुक्त भएका थिए।

पहिलो कार्यकालमा माओवादी केन्द्रबाट निर्वाचित भएका मण्डल वाम एकताबाट नेकपा बनेपछि एमालेतिर लागेका थिए। पार्टी विभाजनपछि माओवादीमा नफर्केका कारण उनले साढे तीन वर्षमै सभामुख पद गुमाएका थिए।

प्रदेश सभाको अर्को बैठक मङ्सिर ४ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट