राष्ट्रियसभा निर्वाचनः विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ।
बुधबार मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसाईंले कार्यालयको औपचारिक शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमबारे जानकारी गराएका हुन्।
निर्वाचन आयोगको कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख चोलाराज दङ्गालका अनुसार निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन आयोगको कार्यालय, विराटनगरमै रहनेछ।
निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुसार २०८२ पुस १९ गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि मतदाता नामावली उपर प्राप्त दाबी, विरोध तथा निवेदन/उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
यसैगरी पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। पुस २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गरिनेछ भने पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
यस्तै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। मतदान भने विसं २०८२ माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रहरूमा सम्पन्न हुनेछ।
कोशी प्रदेशमा यसपटक महिलातर्फ एक, दलिततर्फ एक र अन्यतर्फ एक जना गरी तीन जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुन लागेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस