मधेसमा गहुँ उत्पादनमा ठूलो ह्रास
गहुँ उत्पादनका लागि मुलुककै उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष उत्पादनमा निकै गिरावट आएको छ। प्रतिकूल मौसम, रोगकीराको प्रकोप, सिँचाइको असुविधा र समयमा गुणस्तरीय बीउबिजन उपलब्ध हुन नसक्दा गहुँ उत्पादनमा उल्लेख्य ह्रास आएको हो।
मधेस प्रदेश कृषि निर्देशनालय, नक्टाझिज (धनुषा) का अनुसार यस वर्ष प्रदेशभर ३ लाख ७३२ हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा प्रतिहेक्टर १.८ मेट्रिक टनका दरले मात्र गहुँ उत्पादन भएको छ। जसअनुसार कुल उत्पादन ५ लाख ४३ हजार १६० मेट्रिक टनमा सीमित हुन पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो उत्पादन निकै निराशाजनक हो। गत वर्ष मधेसमा १ लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.३७ मेट्रिक टनका दरले कुल ७ लाख ३१ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो।
समयमा सिँचाइको भरपर्दो व्यवस्था हुन नसक्नु, बजारमा उन्नत जातको बीउ अभाव हुनु र खेतीको मुख्य समयमा मौसमले साथ नदिँदा किसानहरूले ठूलो नोक्सानी ब्यहोर्नु परेको मधेस प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताए। वैधानिक रूपमै कृषि संकट गहिरिँदै जाँदा किसानहरूले आफ्नो लगानी र मिहिनेत अनुसारको प्रतिफल पाउन नसकेको निर्देशनालयको निष्कर्ष छ।



तपाईको प्रतिक्रिया दिनुहोस