पक्राउपछि रवि लामिछानेले भने - राज्यको दादागिरी भयो
पूर्व उपप्रधान तथा गृहमन्त्री, र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार काठमाडौंबाट सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि पक्राउ परेका छन्।
पक्राउ पुर्जी बुझिसकेपछि उनले रास्वपा पार्टी कार्यालयमा अदालतको सम्मान गर्ने र अदालती प्रक्रियालाई सम्मान गर्ने प्रतिक्रिया दिएका छन्। लामिछानेले आफूलाई पक्राउ गर्नु राज्यको दादागिरी भएको बताए। उनले आफूले सम्झौता नगर्दा सरकार ढलेको र नयाँ सरकार बन्ने सम्झौताकै क्रममा आफूलाई पक्राउ गर्ने सहमति नभएको दाबी गरे।
"मैले धेरै भन्नुपर्ने केही छैन। आम नागरिकले सबैकुरा देखेका छन्। उनीहरूले जस्तै सम्झौता गरेको भए सरकार लम्बिन्थ्यो होला। जुन दिन सरकार ढाल्ने सम्झौता भएको थियो, त्यही दिन नै मलाई पक्राउ गर्ने सहमति थियो," लामिछानेले भने। "देशको आशा र भरोसामाथि प्रहार भएको छ। म कुनै पनि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु।"
उनले कुनै पनि अपराध नगर्दा पनि राज्यले सम्पूर्ण शक्ति लगाएर यो कार्य गरेको बताएका छन्। "राज्यको दादागीरी डटेर सामना गर्न चाहन्छु।"
पक्राउ पर्नुअघि लामिछानेले फेसबुकमा एउटा लामो स्टाटस लेखेका थिए, जसमा उनले भनेका छन्, "सरकार मर्यो, हामीलाई जुठो पर्यो!!"
लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै बिचौलियाको सेवा गर्ने आरोप लगाएका छन्। "तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी? तपाईं बिचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?"
उनले राज्यको सबै शक्ति लगाएर अनुसन्धान गर्दा पनि आफूलाई केही नभेटिने दाबी गरे। "तिमीहरू राज्यका सबै शक्ति लगाएर अनुसन्धान गर्दापनि केही भेट्दैनौं अनि मेरो एक नेता जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने?"
"ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभएको थियो। वाचा स्वरूप तपाईंले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नु भएको थियो। यो मलाई राम्रोसँग थाहा छ," लामिछानेले लेखेका छन्।
पक्राउ पर्नुअघि उनले रास्वापाको फेसबुक पेजबाट एक भिडियो वक्तव्य पनि जारी गरेका थिए, जसमा उनले आफूप्रति पूर्वाग्रह रहेको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस