विश्वव्यापी समस्याहरू समाधान गर्न सामूहिक प्रयासको खाँचो: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, गरिबी र सुरक्षा चुनौती लगायत विश्वव्यापी चुनौती समाधानका लागि सामूहिक र बहुपक्षीय प्रयास आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घ स्थापना दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले नेपाल विश्वव्यापी शान्ति, स्थिरता र दिगो विकासलाई अगाडि बढाउन रचनात्मक भूमिका खेल्न तयार रहेको छ बताएका छन् ।
शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र गैरहस्तक्षेप नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण सिद्धान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालले ‘सबैसँग मित्रता’को भावना अघि सारिरहेको स्पष्ट पारे । संयुक्त राष्ट्र बडापत्रप्रति नेपालको प्रतिबद्धता दोहो¥याउँदै उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति, समानता, सहयोग र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि नेपालले दशकौँदेखि निरन्तर पैरवी गर्दै आएको स्मरण गरेका थिए ।
राष्ट्र सङ्घीय शान्ति मिसन, अन्तर्राष्ट्रिय सन्धि र निशस्त्रीकरण प्रयासमा नेपालको योगदानले विश्वव्यापी शान्ति र सद्भाव प्रतिको समर्पणलाई झल्काएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रतिकूलताका बाबजुद पनि द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा खटिइएका शान्ति सैनिकको भूमिका प्रशंसनीय रहेको बताए ।
राष्ट्र सङ्घको आह्वानमा नेपालले शान्ति सैनिक पठाउन थालेको इतिहास गर्व गर्न लायक रहेको जनाउँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय शान्ति अभियानले विभिन्न चुनौती सामना गरिरहेको बताउए। शान्ति सैनिकहरु हिंसात्मक समूह र बदलिँदो सुरक्षा अवस्थाबाट जोखिममा रहेका उल्लेख गर्दै उहाँले जटिल बन्दै गएका द्वन्द्व व्यवस्थापन र समाधानका लागि मजबुद अन्तर्राष्ट्रिय समर्थन र ऐक्यबद्धता आवश्यक भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले विश्वव्यापी समुदायले सामना गरिरहेको वातावरणीय चुनौती सम्बोधन गर्न तथा मानवजातिको साझा खतराविरुद्ध सामूहिक रूपमा लड्ने बेला आएको बताए । संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाले जलवायु परितर्वन, जैविक विविधताको हानी र वातावरणीय ह्रासबाट आइपर्ने चुनौतीलाई स्पष्टसँग किटान गरेको उल्लेख गर्दैँ प्रधानमन्त्री ओलीले ती चुनौती समाधान गर्न दृढ प्रतिबद्धता र सामूहिक प्रयासको खाँचो औँल्याए ।
नेपाल जस्ता देशहरूले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गरेका भए पनि जलवायु सङ्कटबाट प्रभावित हुन पुगेको बताउँदै प्रधानमन्त्री ओलीले वातावरणीय प्रभाव अन्त्यका लागि विश्वव्यापी साझेदारी गर्न नेपाल तयार रहेको स्पष्ट पारेका थिए । नेपाल संयुक्त राष्ट्र सङ्घका सिद्धान्त प्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको दोहोर्याउँदै प्रधानमन्त्रीले शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षणको विश्वव्यापी प्रयासलाई अनवरत रुपमा समर्थन गरि रहने बताएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस