Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी


Photo: RSS

इलाम, १० कात्तिकः

जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । चिया व्यवसायीहरूका अनुसार भारत, चीन, र फ्रान्सजस्ता देशहरूबाट तयारी चियाको लागि उच्च माग आएको छ। इलाम नगरपालिका–५ का व्यवसायी शरद् सुब्बाले विदेशी व्यापारीहरूले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेको बताए पनि उत्पादनमा कमी भएकाले मात्र एक हजार पाँच सय किलो चिया उपलब्ध गराउन सकिने कुरा गरे।

सुइरोबाट बनेको चियाको विशेष माग अन्तर्राष्ट्रिय बजारमा रहेको भन्दै सुब्बाले भने, "व्यापारीहरूले पहिल्यै रकम पठाएर 'बुकिङ' गर्छन्, तर उत्पादनमा कमी भएकाले माग अनुसार निर्यात गर्न सकिएको छैन।" कोरोना महामारीका बेला निर्यातमा आएको रोकले अहिले क्रमशः अन्तर्राष्ट्रिय बजारमा चिया व्यापार पुनः सक्रिय हुँदै गएको छ। यस वर्ष तेस्रो मुलुकबाट पनि चियाको माग बढी आएको उनले जानकारी दिए।

तीनजुरे चिया कारखानाले यस वर्ष 'गोल्डेन ब्याल्क' र 'ग्रीन टी' लगायतका फरक स्वादका २० क्विन्टल चिया फ्रान्स पठाएको छ। गत वर्षको तुलनामा यस वर्ष हरियो चियाको उत्पादनमा कमी भएकाले निर्यातमा समस्या आएको छ। ग्रिनहिल चिया उद्योगले पनि आठ हजार किलो चिया भारत र तेस्रो मुलुकमा निर्यात गरेको भए पनि मागअनुसार गुणस्तरीय चियाको कमी भएको जनाएको छ।

नेपालमा उत्पादन हुने चियामध्ये केवल १० प्रतिशत मात्र देशभित्रै खपत हुने गर्दछ। मौसम परिवर्तनका कारण हरियो चियाको उत्पादनमा कमी आएको कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए। बोर्डले अर्गानिक चिया उत्पादनमा बढावा दिन किसानलाई तालिम र प्राविधिक सहयोग प्रदान गर्ने योजना बनाइरहेको छ। इलाममा आठ हजार आठ सय ७६ किसान चियाखेतीमा संलग्न छन् र ७२३६ हेक्टर जमिनमा चिया उत्पादन भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट