चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल
चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी रु ३२ करोड नौ लाखको नरिवल भित्रिएको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँ, तिहार र छठ पर्वको लागि ६० लाख ६३ हजार पाँच सय ९५ केजी नरिवल आयात गरिएको हो।
भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठका अनुसार, पछिल्लो तीन महिनामा करिब रु एक अर्बभन्दा बढीको ड्राई फ्रुट्स पनि भित्रिएको छ। भारत र चीन लगायतका देशबाट नरिवलसँगै काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अन्जिर र किसमिस समेत भित्रिएको जानकारी दिएका थिए ।
तथ्यांकअनुसार, रु २६ करोड दुई लाखको दुई लाख ९८ हजार नौ सय ४६ केजी काजु, रु १८ करोड ६० लाखको दुई लाख ३२ हजार छ सय ९३ केजी बदाम र अलमण्ड आयात भएको छ। रु २० करोड ९८ लाखको छ लाख सात हजार दुई सय २५ केजी ओखर पनि भित्रिएको छ।
त्यसैगरी, पिस्ता १२ हजार सात सय ७७ केजी रु एक करोड ४५ लाखमा, रु २१ करोड ६२ लाखमा १७ लाख १४ हजार चार सय १९ केजी सुपारी, रु एक करोड ३० लाखमा एक लाख २४ हजार एक सय ७७ केजी खजुर र छोकडा आयात गरिएको छ।
४१ हजार पाँच सय ५० केजी अन्जिर रु दुई करोड ६५ लाख, तीन लाख २४ हजार छ सय ७५ केजी किसमिस रु १० करोड ६२ लाखमा आयात गरिएको छ। यसबाहेक, रु चार करोड ७४ लाख मूल्यका विभिन्न किसिमका बत्ती पनि दिपावलीको लागि आयात गरिएको छ।
विभागका अनुसार, यस वर्ष अघिल्लो वर्षको तुलनामा बदाम, अलमण्ड र ओखरको आयात कम भएको छ। तुलनात्मक रूपमा बदाम र अलमण्डको आयात सात प्रतिशतले कम भएको छ, भने ओखरको आयात ४४.६ प्रतिशतले कम भएको छ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष बत्तीको आयात ५८ प्रतिशतले कम भएको छ। अघिल्लो वर्षको तीन महिनामा सात लाख ७८ हजार पाँच सय ८२ थान बत्ती रु नौ करोड ८४ लाख मूल्यमा आयात गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस