सरकारले अपराधी र आरोपितहरूको रक्षा गर्ने छैन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति र सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी लिने नेपाल प्रहरीलाई सधैं सतर्क रहन निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति र सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी लिने नेपाल प्रहरीलाई सधैं सतर्क रहन निर्देशन दिनुभएको छ।काठमाडौं महानगरपालिका-११ को भद्रकालीमा नवनिर्मित जिल्ला प्रहरी परिसर काठमाडौंको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता फैलाउन खोज्ने संभावित शक्तिहरूप्रति उच्च सतर्कता अपनाउन र नागरिकको हितमा समर्पित भई काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो।
"वर्तमान सरकारले कुनै अपराधी, कुनै आरोपितलाई पक्राउ नगर्न भन्ने छैन, र निर्दोषलाई फसाउन भन्ने पनि छैन," उहाँले भन्नुभयो। उहाँका अनुसार, यो सरकार देश र जनताको हितका लागि गठन भएको हो।उहाँका अनुसार, नेपाल प्रहरीले संविधान र कानूनको पालना गर्दै नागरिकहरूको सर्वोत्तम सेवा गर्नुपर्छ।प्रधानमन्त्री ओलीले देशमा स्थिरता प्रवर्द्धन गर्ने इच्छा रहेको बताउँदै प्रहरी संस्थामा कुनै पनि कर्मचारीलाई बढुवा र सरुवाका लागि अनुचित पहल गर्न नपर्ने आश्वासन दिनुभयो।
"यो सरकारले अनुचित दबाब र प्रभाव स्वीकार गर्दैन," उहाँले भन्दै प्रहरी कर्मचारीहरूलाई विश्वासका साथ काम गर्न आग्रह गर्नुभयो।१ करोड २६ लाख रुपैयाँको लागतमा निर्मित यो भवन बनाउन प्रहरीले तत्कालीन नेपाल खाद्य निगमको १५ रोपनी जग्गा १ करोड १० लाख रुपैयाँमा खरिद गरेको थियो। यो परिसरले २०१२ सालमा हनुमानढोकाबाट सेवा प्रारम्भ गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस