कीर्तिपुर नगरपालिकाको मेयर पदमा माओवादी बाट प्रा.डा. शिवशरण महर्जन
काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति हुने उपनिर्वाचनलाई चासोका साथ हेरिएको छ ।
०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिका नेपाली कांग्रेसले जितेको थियो । नगरप्रमुख राजकुमार नकर्मीको ०८१ साउन १० गते निधन भएको थियो । मृगौलाको रोगबाट पीडित नकर्मीको उपचारका कममा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका निम्ति मंसिर २ गते उमेदवारी दर्ता हुँदै छ । दलहरूले धमाधम उमेदवार छनोटको गृहकार्य गरिरहेका छन् ।
नेकपा (माओवादी केन्द्र)ले ०७९ को स्थानीय तह चुनावमा पराजित शिवशरण महर्जनलाई नै दोहोर्याउने भएको छ । पार्टीका उपाध्यक्ष तथा वाग्मती प्रदेश इन्चार्ज अग्नि सापकोटासहित बसेको नगरसमितिको सोमबारको बैठकले महर्जनलाई उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
०७९ को स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित नेपाली कांग्रेसका नकर्मीले नौ हजार ४३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिष्पर्धी एमालेका केशवरत्न बज्राचार्यले पाँच हजार ५०७ मत ल्याएका थिए । माओवादीका शिवशरण महर्जनले चार हजार ९० मत ल्याएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस