आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै, उनको योगदान सङ्क्षेपमा
तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सिंहले सफाइ पाएका थिए ।
प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । वि.सं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गर्नु भएको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेको पहिलो घटना थियो ।
सर्वोच्च नेता सिंहसँग नजिक भएर काम गरेका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत १९९७ सालमा प्रजातन्त्रका लागि घरपरिवार त्यागेर उनले राजनीति सुरु गरेको स्मरण गर्छन् । त्यागबाट राजनीतिक जीवन सुरु गर्नुभएका सिंहले १९९७ सालदेखि २०४६ सालसम्म आन्दोलन गरेर प्रजातन्त्रका लागि योगदान गर्नुभएको बताए । यो समयमा नियतिले नै गणेशमान लाई निमित्त बनाएकोँ पत्रकार बस्नेत बताउनुहुन्छ ।
सिंहले २०४६ सालमा आफूलाई सर्वमान्य नेताका रुपमा स्थापित गर्न सफल भए । गणेशमानको छवि त्यसबेला सर्वमान्यका लागि पुँजी बनेको थियो । गणेशमानले विश्वासघात गर्दैनन् भन्नेमा कांग्रेसका मात्र नभई कम्युनिष्ट पार्टीमा विश्वास थियो । त्यो बेला एउटा कम्युनिष्ट दलले अर्को कम्युनिष्ट दललाई पनि विश्वास गर्दै सुरु गर्ने जिम्मेवारी दिइएको छ ।
गणेशमान जयन्तीका अवसरमा फाउन्डेसनले जिल्ला जिल्लामा कार्यक्रम गर्न लागेको जनाइएको छ । यस अवसरमा आज भक्तपुरको कटुञ्जेस्थित गणेशमान सिंह वाटिकामा मानव अधिवारवादी नेता प्रा कपिल श्रेष्ठलाई विशेष सम्मान गर्न लागिएको छ । शोभाभगवती स्थित गणेशमान सिंहको प्रतिमामा माल्र्यापणसहित विशेष कार्यक्रम गर्न लागिएको हो ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मनु भएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
राणाशासन अन्त्य गर्ने अभियानमा लागेपछि सिंह लगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए ।
जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा सिंहले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनःबहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहिरहे । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील भए ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र खोसिएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताएकस थिए ।
विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उनले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरेका थिए । वि.सं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहे ।
तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सिंहले सफाइ पाएका थिए । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे ।
बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरेका थिए । वि.सं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो ।
जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बन्नुभएको हो ।
नेता सिंहलाई २०१७ साल पुस १ गतेको "कू" पछि २०२५ सालसम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा गएका नेताहरुलाई २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रो पटक थुनियो ।
विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ ।
यस अवसरमा गणेशमान सिंह प्रतिष्ठानले रत्नपार्क स्थित शान्ति वाटिकामा कार्यक्रम गर्ने जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस