यी दुई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
बिन्ध्यवासिनी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। यी कम्पनीहरूले लाभांश वितरण र वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि कात्तिक २८ गते बुक क्लोज गर्नेछन्।
यसअनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउने र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। बिन्ध्यवासिनी हाइड्रोपावरले गत आर्थिक वर्षका लागि ८ प्रतिशत बोनस शेयर वितरणको घोषणा गरेको छ भने मन्दाकिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिनेछ।
मन्दाकिनी हाइड्रोपावरले मंसिर ७ गते काठमाडौँको लाजिम्पाटमा एघारौं वार्षिक साधारण सभा बोलाएको छ। यस सभामा बोनस शेयर वितरण, १ बराबर १.२५ अनुपातमा हकप्रद शेयर जारी, माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा लगानी, तथा बैंक ऋण भुक्तानीका लागि हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित हुनेछ।
विन्ध्यवासिनी हाइड्रोपावरले मंसिर ६ गते नयाँ बानेश्वरस्थित कार्यालयमा आठौं वार्षिक साधारण सभा बोलाएको छ। यस सभामा ८ प्रतिशत बोनस शेयर वितरण, सञ्चालक समितिको संख्या संशोधन, र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पारित गरिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस