महिला क्रिकेट खेलाडीले प्राप्त गरेको सफलता गौरवपूर्ण : दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले नेपाली महिला खेलाडीहरूको पछिल्लो समय खेलकुदमा प्रदर्शन गरेको प्रतिस्पर्धा र सफलता नेपाल र नेपालीका लागि गौरवको विषय भएको बताएका छन्।
अध्यक्ष दाहालले नेपाली खेल क्षेत्रको सफलताको इतिहासमा आज फेरि एक नयाँ अध्याय थपिएको बताउँदै पहिलो पटक आइसिसी यु–१९ महिला क्रिकेट टोलीले विश्वकपमा छनोट भएर देशको प्रतिष्ठा बढाएको उल्लेख गरेका छन्।
आइसिसी यु–१९ महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो। युएईको अजमानस्थित द सेभेन स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ८४ रनको लक्ष्य दिएको थियो, जसलाई नेपालले १४.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
अध्यक्ष दाहालले सामाजिक सञ्जालमा बधाई सन्देश दिँदै, यो सफलता महिला क्रिकेट खेलाडीहरूको अथक परिश्रम र लगनशीलताको नतिजा भएको र यसले नेपाललाई विश्व मञ्चमा थप उचाइमा पुर्याएको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस