पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजे ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विभिन्न राजनीतिक दलका नेता, र समाजका अन्य प्रतिष्ठित व्यक्तिहरूले त्यहाँ उपस्थित भई ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन्।
कलेजोसँग सम्बन्धित समस्याका कारण उपचाररत ८३ वर्षीय ढुङ्गानाको आइतबार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो। त्यसपछि उनको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शवगृहमा राखिएको छ।
सानो गौचरणमा श्रद्धाञ्जलीपछि ढुङ्गानाको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लैजाने कार्यक्रम छ। नेपाल सरकारले अन्त्येष्टिमा दिने सम्मानबारे निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा हुने बताइएको छ।
यसैबीच, सभामुख देवराज घिमिरेले ढुङ्गानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। ढुङ्गानाले बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति, र मानवअधिकारका पक्षमा जीवनभर संघर्ष गर्दै शान्ति प्रक्रिया सफल बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए।
राजनीति क्षेत्रमा देखिएका विकृति र विसङ्गतिबारे स्पष्ट रूपमा आवाज उठाउने ढुङ्गाना संविधान र कानुनका ज्ञाता थिए। २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भई सभामुखको जिम्मेवारी सम्हालेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस