कीर्तिपुरको समृद्धिका लागि महर्जनको नयाँ योजनासहितको उम्मेदवारी
प्रा. डा. शिवशरण महर्जन शिक्षाको क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि योगदान गरिरहेका एक अनुभवी समाजसेवि हुन्। त्रिभुवन विश्वविद्यालयमा विभिन्न महत्वपूर्ण पदमा रहेर काम गरेका महर्जनले कीर्तिपुर क्षेत्रको विकासका लागि विगतमा पनि धेरै ठूला परियोजनाहरू अगाडि बढाएका छन्।
कीर्तिपुर खानेपानी वितरणदेखि सार्वजनिक यातायातको व्यवस्था गर्ने योजनासम्म उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
प्रा. डा. शिवशरण महर्जनले भने, "कीर्तिपुर नगरपालिकाको विकासमा मेरो अनुभव, ज्ञान र योगदानलाई जनताले कदर गर्नुहुने विश्वास छ। यो क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र आर्थिक विकासका लागि मैले मेरो जीवन समर्पित गरेको छु।"
प्रा. डा. शिवशरण महर्जनका मुख्य चुनावी योजनाहरु
स्वास्थ्य क्षेत्रको सुधार:
विष्णुदेवी अस्पताललाई २५ शैय्याको बनाउने।
जेष्ठ नागरिक र अशक्त व्यक्तिका लागि घरघरमै निःशुल्क स्वास्थ्य परीक्षण।
शिक्षण अस्पताल निर्माणको पहल।
शिक्षा र रोजगारीः
सीपमूलक शिक्षाको ग्यारेन्टी गर्ने।
महिलालाई स्वरोजगारका लागि विशेष परियोजना ल्याउने ।
स्थानीय सीपलाई व्यावसायिक बनाउँदै ब्राण्डिङ गर्ने।
सांस्कृतिक संरक्षण:
कीर्तिपुरलाई नमूना सांस्कृतिक नगर बनाउने।
ऐतिहासिक स्थल र स्थानीय भाषाको संरक्षण।
पर्यटन प्रवर्द्धनका लागि विशेष योजना।
भौतिक पूर्वाधार र सुसंस्कृत विकासतर्फ:
कीर्तिपुर रिंगरोड निर्माण।
व्यवस्थित बस्ती विकास।
सबै क्षेत्रमा सार्वजनिक सेवाको समानुपातिक वितरण।
दिगो कृषि र शून्य फोहर अभियानः
कृषकलाई मल बीउ र पेन्सनको व्यवस्था गर्ने।
फोहर निःशुल्क संकलन।
हिलोधुलोमुक्त कीर्तिपुर निर्माण।
कस्तो छ समर्थन र जित्ने आधार
महर्जनको उम्मेदवारीलाई विभिन्न राजनीतिक दलहरूको साझा समर्थन प्राप्त हुने जस्तो पनि देखिएको छ । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, र नेपाल समाजवादी जस्ता दलहरूका साथै स्वतन्त्र बुद्धिजीवी र स्थानीय व्यक्तिहरूले पनि महर्जनलाई समर्थन गरेका छन्।
महर्जनले भने, “कीर्तिपुरका जनताले विगतका नेतृत्वहरूले गरेका कमी कमजोरीलाई समीक्षा गरी यो पटक विकासका लागि परिपक्व नेतृत्वलाई रोज्नुहुनेछ भन्ने विश्वास गरेको छु ।”
महर्जनका अनुसार कीर्तिपुरको समृद्धि केवल चुनावी नारा होइन, यो उनको जीवनभरको सपना हो। उनले थपे, “हाम्रो जितपश्चात्, कीर्तिपुरलाई दुई वर्षभित्र नेपालको सबैभन्दा नमूना नगरपालिका बनाउने प्रतिबद्धता गर्दछु।”
महर्जनले कीर्तिपुरवासीलाई आफूलाई मत दिएर ऐतिहासिक परिवर्तनको सुरुवात गर्न आग्रह गरेका छन्। उनले भने, "यहाँहरुको भरोसा र समर्थनले मात्र कीर्तिपुरको भविष्य बदल्न सकिन्छ। म जनताको सेवाका लागि दिनरात खट्नेछु।"



तपाईको प्रतिक्रिया दिनुहोस