बिटकोइनको मूल्य एक लाख डलर पार, ट्रम्पको नीतिले क्रिप्टोमा उत्साह आउन सक्ने
बिटकोइनको मूल्य एक लाख डलर (झन्डै १.३५ करोड नेपाली रुपैयाँ) नाघेको छ। संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्पको पुनः राष्ट्रपति पदमा निर्वाचित हुने सम्भावनाका कारण क्रिप्टोकरेन्सी बजारमा चहलपहल बढेको थियो ।
जब ट्रम्पले वाल स्ट्रीट नियमनको प्रमुख निकायमा क्रिप्टोकरेन्सी समर्थक पोल एट्किन्सलाई नियुक्त गर्ने घोषणा गरेपछि बिटकोइनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। एट्किन्सले क्रिप्टोकरेन्सीलाई सहयोग पुग्ने नीतिहरू अगाडि सार्ने विश्वास गरिँदै आएको छ।
सन् २०२१ मा ट्रम्पले बिटकोइनलाई "छल" भनेका थिए। तर, २०२४ को चुनावी प्रचारका क्रममा उनले अमेरिकालाई "पृथ्वीको क्रिप्टो राजधानी" बनाउने प्रतिबद्धता व्यक्त गरे। यसले क्रिप्टोकरेन्सी बजारमा थप सकारात्मक प्रभाव पारेको छ।
बिटकोइनको मूल्य बढ्ने र घट्ने चक्रले चर्चा बटुल्दै आए पनि यसको रहस्यमय इतिहास र सिर्जनाकर्ता सातोशी नाकामोतोबारे चासो निरन्तर रहँदै आएको छ। सन् २००८ मा बिटकोइनको अवधारणा सार्वजनिक भएको भए पनि यसको वास्तविक आविष्कारक को हुन् भन्ने आजसम्म अज्ञात छ।
अस्ट्रेलियाका कम्प्युटर वैज्ञानिक क्रेग राइटले आफू सातोशी भएको दाबी गरे पनि प्रमाणित गर्न नसकेका कारण सन् २०२४ मा लन्डनको अदालतले उनलाई सातोशी नभएको ठहर गरेको छ।
विशेषगरी ट्रम्प प्रशासनको क्रिप्टोकरेन्सी नीतिहरूले बिटकोइनलगायत अन्य डिजिटल मुद्राको मूल्यमा थप उछाल ल्याउने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस