Techie IT
२०८२ भाद्र १२, बिहीबार

एनपिएलबाट बाहिरिने पहिलो टोली बन्यो लुम्बिनी लायन्स

पराजित लुम्बिनीको छ खेलमा पाँचमा हार र एकमा जितसहित दुई अङ्क छ । यस हारसँगै लुम्बिनी लिग चरणको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो ।


नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपिएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो ।     
    
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जितका लागि दिएको एक सय चार रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा दुई चौका प्रहार गरे ।     
    
त्यसैगरी, उन्मुक्त चन्दले १९ बलमा १३ रन बनाउँदा सूर्य तामाङ ११ रन जोड्दै अविजित रहे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान रोहित पौडेल आठ, टम मुर्स छ तथा ओपनर आशुतोष घिरैया चार रनमा आउट भए ।     
    
काठमाडौँका लागि कप्तान करण केसीले चार विकेट लिएका थिए  भने दीपेश कँडेलले तीन विकेट लिएका थिए  । त्यस्तै, जेहार्ड एरास्मसले दुई विकेट लिएका थिए  ।     
    
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ दशमलव दुई ओभरमा एक सय तीन रनको योगफल बनाएको थियो । काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाएका थिए । भीमले ४० बलमा एक चौका प्रहार गरेका थिए । त्यस्तै, ड्यान ड्वाथवेटले २१ रन बनाएर आउट भएका थिए । प्रतीक श्रेष्ठले २० रन बनाउँदा स्टेफन स्केनाजी १३ रनमा आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।     
    
लुम्बिनीका लागि साद विन जाफरले तीन विकेट लिएका थिए  भने अभिषेस गौतम र रेमन सिमण्डसले समान दुई– दुई विकेट लिएका थिए  । त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान एक–एक विकेट लिएका थिए  ।     
    
पराजित लुम्बिनीको छ खेलमा पाँचमा हार र एकमा जितसहित दुई अङ्क छ । यस हारसँगै लुम्बिनी लिग चरणको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो । लुम्बिनी यसअघि विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । हिजो भएको खेलमा भने लुम्बनीले चितवनलाई पराजित गरेको थियो ।     
    
चार खेलमा दुईमा हार र दुईमा जितका साथ काठमाडौँ तालिकाको पाँचौँ स्थानमा उक्लिएकाे छ । यो खेलमा जितसँगै काठमाडौं प्लेअफ सम्भावना कायमै छ । उक्त प्रतियोगितअन्तर्गत भोलि बुधबार दुई खेल हुनेछ । जसमा बिहान ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सवीच प्रतिस्पर्धा हुनेछ भने १ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट