भारतीय शेयर बजारमा २२ वर्षीय युवकले गरे २२ अर्बको घोटाला
भारतीय शेयर बजारमा हालै सार्वजनिक भएको ठगीको घटना ठूलो तहल्का मच्चाएको छ। असामका २२ वर्षीय विशाल फुकनले आफ्नो साथी सुमी बोरासँग मिलेर लगभग २२ अर्ब भारतीय रुपैयाँ बराबरको ठगी गरेको आरोप लागेको छ।
विशालले सुमीसँग मिलेर फर्मास्युटिकल्स, फिल्म निर्माण, निर्माण र शेयर बजारसँग सम्बन्धित कम्पनीहरू सञ्चालन गरिरहेका थिए। यस क्रममा, असाममा रहेको डिवी स्टक ब्रोकिङ्ग कम्पनीका मालिक दिपकंर वर्मनमाथि शेयर बजारमा ‘मेनुप्लेट’ गरेको आरोप लाग्यो र उनी फरार भए। उनलाई खोज्ने क्रममा प्रहरीले विशाल र सुमीको ठगी पत्ता लगायो।
विशाल र सुमीले नियोजित रूपमा शेयर बजारमा गलत हल्ला फैलाएर, मानिसहरूलाई भ्रममा पारेर ठगी गरे। उनीहरूले कहिले कुनै कम्पनीको शेयर बढ्ने, कहिले घट्ने जस्ता हल्ला फैलाएर मानिसहरूलाई शेयर खरिद-बिक्रीमा उकासेर ठगी गरे। यसरी उनीहरूले केही समयको अवधिमा २२ अर्ब रुपैयाँको घोटाला गरेको दाबी गरिएको छ।
विशाललाई गत साता पक्राउ गरिएको छ भने सुमी भने अझै फरार छन्। असाम प्रहरी अन्य प्रान्तका प्रहरीसँगको सहयोगमा सुमीको खोजीमा जुटेको छ। असामका मुख्यमन्त्री हेमन्त विश्वा शर्माले यो घटनाले भारतीय पूँजी बजारको आँखा खोलिदिएको बताएका छन् र यस घटनाको वास्तविकता सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस